|

हेटौंडा : नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डले १४ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ।

शनिबार हेटौंडामा सम्पन्न बोर्ड बैठकले पार्टीको हितविपरीत काम गरेको भन्दै १४ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले अवाञ्छित गतिविधि गरेको भन्दै आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण दिन १४ प्रदेशसभा सदस्यहरुलाई निर्देशन दिएको जानकारी दिए।

उनको अनुसार अष्टलक्ष्मी शाक्य, राजेन्द्र प्रसाद पाण्डे, अरुण नेपाल, रचना खड्का, कुमार कार्की, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, ईन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मिना ज्ञवालीलाई स्पष्टीकरण सोधिएको हो।

स्पष्टीकरण सोधिएका १४ जनामध्ये ३ जना बोर्डको सदस्यसमेत रहेका छन्। बोर्डको सदस्य रहे पनि राजेन्द्रप्रसाद पाण्डे र अरुण नेपाल अस्वस्थ रहेको भन्दै बैठकमा सहभागी नभएको निरौलाले बताए। अष्टलक्ष्मी शाक्यले भने कुनै जानकारी नदिएको उनको भनाइ छ।

 निरौलाले पार्टीको निर्णय नमान्ने र पार्टीको अहित हुने काम गर्नेलाई स्पष्टीकरण सोधेको बताए। उनले आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण नदिए पार्टीको विधानअनुसार कारबाही गरिने बताए। गत ६ गतेको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेद्ववार रामबहादुर थापा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटासँग पराजित भएका थिए।

शनिबार बसेको बैठकले प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधनप्रति समवेदना व्यक्त गरेको छ। त्यस्तैगरि, वर्तमान सरकारले कोरोना न्यूनीकरणको लागि गरेको कामप्रति उच्च सम्मान व्यक्त गर्दै कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न सबैलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.