संक्रमित घटेपछि प्रादेशिक अस्पतालले हटायो टेन्ट

|

धनगढी : कैलालीको गेटा मेडिकल कलेजको भवनमा निर्मित आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ। निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा कोरोनाका संक्रमितको उपचारको लागि सो आइसोलेसन सेन्टर आइबारदेखि सञ्चालनमा आएको हो। 

हाल ५० शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए।

आवश्यक जनशक्ति, अक्सिजन, उपकरणलगायत तयारी भएको उनले बताए। आइसियूमा राखिने प्रकृतिका बिरामीलाई भने सेती प्रादेशिक अस्पतालमा रिफर गरिने उनले जिकिर गरे।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिस‍िसिएमसी) मातहत रहने गरी सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको सहकार्यमा उक्त आइसोलेसन सञ्चालनमा आएको हो।

१ महिनादेखि निर्माणको प्रक्रियामा रहेको आइसोलेसन अक्सिजन ग्यास र जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा सेवा सुरुवात गर्न ढिलाइ भएको बताइएको छ।

संक्रमित घटेपछि प्रादेशिक अस्पतालले हटायो टेन्ट 

सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्षबाहिर लगाएको अस्थायी टेन्ट हटाएको छ। कोरोना संक्रमित घटेका भन्दै अस्पतालले आइतबार सो टेन्ट हटाएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। 

कोरोना संक्रमितले अस्पतालको आकस्मिक कक्ष भरिएपछि नेपाली सेनाको सहयोगमा अस्पताल बाहिर ४ वटा टेन्ट लगाएको थियो। 

सो टेन्टभित्र ८ शय्यामा बिरामीको उपचार हुँदै आएकोमा अहिले संक्रमितका बिरामी कम आउन थालेपछि टेन्ट हटाइएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ।

५५ प्रतिशत सङ्क्रमित निको भएर घर फर्किए
 
महामारी फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमित हुनेमध्ये अहिलेसम्म झण्डै ५५ प्रतिशत बिरामी उपचार व्यवस्थापनपछि घर फर्किएका छन्। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार हालसम्म पिसिआर र एन्टिजेन पद्धतिबाट गरिएको नमुना परीक्षणमा सङ्क्रमित पुष्टि भएका ४० हजार ५ सय ७३ मध्ये २२ हजार २५० उपचार व्यवस्थापनपछि घर फर्किएका हुन्।

सङ्क्रमित हुनेमध्ये अहिलेसम्म भण्डै एक प्रतिशत अर्थात् ४ सय २८ जनाको मृत्यु भएको छ। जटिल अवस्थाका सङ्क्रमितको अस्पतालमा उपचार व्यवस्थापन भइरहेको छ। सङ्क्रमण भएर पनि अवस्था सामान्य भएका अन्य सङ्क्रमित संस्थागत आइसोलेसन र होम आइसोलेशनमा नै बसेर उपचाररत छन्।

प्रदेशको कुल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेकोमा अहिलेसम्म भण्डै आठ प्रतिशत अर्थात् दुई लाख नौ हजार २ सय २८ जनसङ्ख्याको मात्र कोरोना भाइरस परीक्षण हुन सकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.