|

जाजरकोट : कोरोना संक्रमितले अस्पताल भरिभराउ भएपछि जिल्ला अस्पताल डोल्पामा सेवा प्रवाहमा समस्या भएको छ।

आठजना चिकित्सकको दरबन्दी रहेका अस्पतालमा अहिले करारका तीनजना डाक्टर मात्र छन्।

दरबन्दीअनुसार चिकित्सक नहुँदा दैनिक काम गर्न मुस्किल भएको डा. मेलिना हमालले बताइन्। अहिले अस्पतालमा रहेका तीनजना चिकित्सककै भरमा अपरेशन, सुत्केरी तथा कोभिड बिरामीलाई सेवा दिनु परेको उनले बताइन्।

‘अहिले अस्पतालमा ३२ शय्या छन्। ती सबै भरिभराउ छ,’ उनले भनिन्, ‘हामीसँग भएको जनशक्तिले मात्र काम गर्न गाह्रो हुँदै आएको छ।’ 

सरकारी दरबन्दीका चिकित्सकहरू दुर्गममा नखट्दा अस्पतालको भित्तामा टाँसिएको दरबन्दी विवरण हेरेर बस्नु परेको नागरिक अगुवा शेरबहादुर बुढाले बताए।

डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालबाहेक अन्य कुनै स्थानीय तहमा सुविधा सम्पन्न स्वास्थ्य संस्था छैन। जसका कारण गाउँबाट बोकेर अस्पतालसम्म बिरामी ल्याउँदा समयमै उपचार नपाउँदा बिरामीको मृत्यु हुने गरेको छ। कोभिडका कारण डोल्पामा तीनजनाको मृत्यु भइसकेको छ।

यहाँ रहेको अस्पतालका लागि नेपालगञ्जबाट अक्सिजन भरेर ल्याइँदै छ। अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सामग्री ल्याइए पनि प्राविधिक नआउँदा तीन सातादेखि कोठामा थन्किएको कार्यालय प्रमुख अमरसिंह शाहीले बताए।

स्वास्थ्य संस्था निर्माणमा ढिलाइ

डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नगरपालिका, डोल्पोबुद्ध र मुड्केचुला गाउँपालिकाले अस्पताल निर्माण गर्न बजेट पाएका थिए।

दुई वर्षभित्र निर्माण सक्नुपर्ने भएपनि अहिलेसम्म जग्गा नै प्राप्त गरेको छैन। बोलपत्र आह्वान गरेको त्रिपुरासुन्दरीले पर्याप्त जग्गा नभएको भन्दै काम गर्न ढिला भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.