ओलीले नै जनतालाई स्पष्टीकरण दिनुपर्छ : रावल

|

काठमाडौं : नेकपा (एमाले)को खनाल–नेपाल समूहका नेताहरूले संस्थापन पक्ष (अध्यक्ष केपी शर्मा ओली समूह) लाई स्पष्टीकरण नदिने भएको छ।

थाहाखबरसँग कुरा गर्दै नेपाल समूहका नेता भीम रावलले पार्टीको नवौं महाधिवेशन पछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरूले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको बताएका छन्‌। साथै, देश ओलीको अपुताली नभएको पनि उनको भनाइ छ।

​‘स्वयम् केपी शर्मा ओली एमालेको अवैध अध्यक्ष भइसकेको अवस्था छ, कार्यकर्ताको मनोबल गिराउने र एकपछि अर्को असंवैधानिक कदम अघि बढाउने काम पटक–पटक गरिरहनुभएको छ,’  नेता रावलले भने, ‘अवैध अध्यक्षले सोधेको स्पष्टीकरणमा जवाफ दिइरहनुपर्ने आवश्यकता छैन र हामी स्पष्टीकरण दिँदैनौँ।’

ओलीले नै जनतालाई स्पष्टीकरण दिनुपर्ने पनि रावलले बताएका छन्‌। 

‘जे मन लाग्यो तेही गर्नलाई यो देश केपी ओलीको अपुताली होइन, पार्टीलाई निजी कम्पनीजस्तो बनाउनुको कारण, नवौं राष्ट्रिय महाधिवेशनपछिको संरचना भत्काउनुको कारण, संविधानमाथि बारम्बार प्रहार गर्नुको कारण, पार्टी विधान विपरीत गतिविधि गर्नुपर्ने कारणलगायत विषयमा केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्छ,' आक्रोश पोख्दै रावलले भनेका छन्‌, ‘सत्ताको सौदाबाजीका लागि संसदमा विचाराधीन रहेको नागरिकता विधेयक अध्यादेशबाट ल्याएर ओलीले देशलाई बर्बाद पार्नुभयो।' 

एमालेले खनाल–नेपाल समूहका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन शनिबार पत्र पठाएको थियो।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विभिन्न तीन वटा प्रश्नसहित २४ घण्टाभित्र स्पष्टीकरण उपलब्ध गराउन खनाल–नेपाल समूहका ११ प्रतिनिधि सभा सांसदलाई पत्र पठाएका थिए।  स्पष्टीकरण दिने समय आज (सोमबार) बिहान सकिएको छ।

स्पष्टीकरणमा गएको वैशाख २७ गते प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुनुपर्ने कारण, राष्ट्रियसभा चुनावमा सूर्य चिह्न लिएर पार्टीबाट उठेका रामबहादुर थापा 'बादल'लाई मतदान नगर्नुका कारण र जेठ ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुका कारणबारे प्रश्न सोधिएको छ। 

यस्तै, ओली समूहका नेता विशाल भट्टराईले पार्टी फुटको संघारमा पुगिसकेको भन्दै अब स्पष्टीकरणको औचित्य नभएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.