|

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले कोभिड–१९ संक्रमणको चेन तोड्न वडा/नगरपालिका सिल गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

आइतबार बसेको नगरपालिकाको संकट व्यवस्थापन समितिको बैठकबाट सो निर्णय गरिएको हो।

जनकपुर उपमहानगर क्षेत्र भित्र देखिएको लापरबाही र दिनप्रतिदिन बढ्दै गएका बिरामीको संख्यालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो। साथै उपमहानगरपालिकाले हटस्पट क्षेत्रमा थप कडाइ गर्ने भएको छ। संक्रमित संख्या दिनहुँ बढे पनि लापरबाही भएको भन्दै थप कडाइ पारिने भएको हो। ​

बैठकबाट रेल्वे स्टेसन, पेठिया बजार, महावीर चोक, जानकी चोक, रामानन्द चोक तरकारी बजारलगायत संवेदनशील क्षेत्रको भीडभाड नियन्त्रण गर्न कडाइ गरिने भएको छ भने भोजभतेर जस्ता क्रियाकलापमा रोक लगाउने निर्णयसमेत भएको छ। 

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले गोपाल धर्मशालामा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा अतिआवश्यक सामग्री म्याट्रेस, तन्ना, जग, पानी तताउने मेसिन, साबुन, औषधि किट, टुथपेष्टलगायत सामग्री कम्तीमा एक सय सेट खरिद गर्ने निर्णय पनि गरिएको छ। 

दिनप्रतिदिन संक्रमित बढ्दै गएपछि गोपाल धर्मशालामा रहेको ३० शैय्यालाई ५० शैय्या क्षमताको आइसोलेसन सेन्टर बनाउने र आवश्यक थप २८ वटा खाटसहित बेड खरिद गर्ने तथा कम्तीमा ७ लिटर क्षमताको थप ३० वटा अक्सिजन सिलिण्डर खरिद गर्ने पनि बैठकमा निर्णय भएको छ। साथै आइसोलेसन सेन्टरका बिरामीको खाना खाजाको व्यवस्थासमेत बजेटबाट व्यवस्थापन गरिने भएको छ। 

कोभिड–१९ को विषमतालाई ध्यान दिई थप एक हजार केएन–९५ मास्क, कम्तीमा २ हजार थान ग्लोभ्स, ५ सय थान पिपिई, १० हजार सर्जिकल मास्क र आवश्यकतानुसार भिटिएम खरिद गर्ने लगायत निर्णय पनि गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.