जन्मदिनमा अक्सिजन खरिदका लागि सहयोग

|

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। नगरपालिकाले एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो। अस्पतालमा अक्सिजनको अभाव भएको खबर बाहिर आएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ।

कोरोनाका बिरामीको उपचारका लागि सहज होस् भनेर अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन्। उनले भनिन्,‘अक्सिजन अभाव रहेको कुरा बाहिर आएपछि  हामीले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेर अस्पताललाई हस्तान्तरण गरेका छौं’

अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएपछि कोभीडका बिरामीहरुको उपचारमा सहयोग पुग्ने जिल्ला अस्पतालले जनाएको छ।  अस्पतालका प्रमुख डा. वसन्तराज जोशीका अनुसार अस्पतालमा अहिले १४ थान अक्सिजन कन्सन्ट्रेटर रहेकोमा ९ वटा कोरोनाका बिरामीको उपचारमा प्रयोग भईरहेका छन्।

यसैबिच  नेपाल इन्जिनियर्स एसोसियसन सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिले जिल्ला अस्पताल बैतडीलाई १५ थान अक्सिजन सिलिण्डर भरेर हस्तान्तरण गरेको छ। अस्पतालका खाली सिलिण्डर नेपालगञ्जबाट भरेर अस्पताललाई हस्तान्तरण गरिएको हो।

एसोसियसनले भरेर पठाएका सिलिण्डर दशरथचन्द नगरपालिकाका इन्जिनियर जयसिंह बोहराले अस्पतालका प्रमुख डा. वसन्तराज जोशीलाई हस्तान्तरण गरेका हुन्।

महामारीको समयमा सिलिण्डर भरेर सहयोग गरेको भन्दै अस्पतालले नेपाल इन्जिनियर्स एसोसियसन सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिलाई धन्यवाद समेत ज्ञापन गरेको छ।

अस्पतालमा हाल साना ठूला गरेर ३१  ओटा अक्सिजन सिलिण्डर रहेका छन्। पछिल्लो समय अस्पतालमा कोरोनाका संक्रमितको संख्या घट्दै गएकाले तत्कालका लागि अक्सिजनको अभाव नरहेको अस्पतालले जनाएको छ।  अस्पतालमा हाल ४ जनामात्रै कोरोनाका बिरामी भर्ना छन्। 

जिल्लामा हालसम्म कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ भने ७ सय जना सक्रिय अवस्थामा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। 

जन्मदिनमा अक्सिजन खरिदका लागि सहयोग

यस्तै, जिल्लाका एक पत्रकारले आफ्नो जन्मदिनको अवसर पारेर अक्सिजन खरिदका लागि सहयोग गरेका छन्। थाहा सञ्चार नेटवर्कका बैतडी समाचारदाता विनोदसिंह विष्टले अक्सिजन खरिदका लागि सहयोग गरेका हुन्।

पत्रकार विष्टले आफ्नो जन्मदिनमा गरिने फजुल खर्च कटाएर शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाइमा जारी सहयोग संकलन अभियानमा सहयोग गरेका हुन्। 

जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव रहेको भन्दै प्रतिष्ठानले सहयोग संकलन अभियान सञ्चालन गरेको छ।

जेठ १२ गते २८ वसन्त पार गरेर २९ वसन्त प्रवेश गरेको अवसरमा २ हजार ८ सय २९ रुपैयाँ प्रतिष्ठानको खातामा जम्मा गरेको पत्रकार विष्टले जानकारी दिए। जन्मदिन मनाउन गरिने फजुल खर्च कटाएर कोरोना महामारीमा अक्सिजन नपाएर प्राण त्याग गरिरहेका नागरिक बचाउनका लागि उक्त  सहयोग गरिएको उनले बताए।

आफ्नो सानो सहयोगले कसैको जीवनरक्षामा सहयोग पुग्ने हुँदा उक्त सहयोग गरिएको उनको भनाइ छ।

बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका पत्रकार विष्ट गएको ११ वर्षदेखि पत्रकारितामा सक्रिय रहेका छन्। पत्रकार विष्ट पत्रकारितासँगै सामाजिक सेवामा समेत संलग्न हुँदै आएका छन्। 

प्रतिष्ठानले जन्मदिनमा फजुल खर्च कटाएर सहयोग गरेकोमा पत्रकार विष्टलाई धन्यबाद ज्ञापन गरेको हो।

जेठ २ गतदेखि सञ्चालन गरिएको अभियानमा हालसम्म ८ लाख ६२ हजार ९५९ रुपैंया संकलन भइसकेको प्रतिष्ठानले जनाएको छ। उक्त संकलित रकम अक्सिजन आपूर्तिलगायतमा खर्च भइरहेको उक्त अभियानमा संलग्न अभियान्ता महेश भट्टले बताए। उक्त अभियानमा सहयोग गर्नका लागि अपिलसमेत गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.