|

विराटनगर : पछिल्लो समय गम्भीर र कडा लक्षण भएका कोरोना संक्रमितको उपचारमा अक्सिजन अत्यावश्यक भइरहँदा विराटनगरस्थित कोसी अस्पतालमा भने अक्सिजन प्लान्ट जडानमा ढिलाइ भएको छ।  

नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनको (ANMS) १ करोड ७ लाख रुपैयाँ सहयोगमा कोसी अस्पताल परिसरभित्र बन्ने अक्सिजन प्लान्ट जडान हुने भनिएको थियो। 

कोसीमा अक्सिजन प्लान्ट जडानको लागि काठमाडौंस्थित डाइनोक्यामले ठेक्का पाएर काम सुरू गरेको लामो समय भइसक्यो। अक्सिजन प्लान्टको लागि कोसी अस्पताल परिसरभित्र संरचना बनिसक्दा पनि निर्माण कम्पनीले तेस्रो मुलुकदेखि उपकरण ल्याउन ढिलाइ भएको छ।

मंसिरमा सम्झौता भई वैशाख २५ गतेभित्र कोसी अस्पतालमा अक्सिजन जडान गर्ने गरी निर्माण कम्पनीसँग समझदारी भएको थियो। तर, सम्झौता अवधि सकिएको २० दिन भइसक्दा पनि अहिलेसम्म अक्सिजन प्लान्ट निर्माण भएको छैन।

संक्रमितको चाप बढ्दै जाँदा अस्पताल प्रशासनलाई अक्सिजनको व्यवस्थापन गर्न हम्मे परेको छ। दैनिक ३० देखि ३५ जना संक्रमित भर्ना भइरहेकामा एक बिरामीलाई कम्तीमा २ देखि ३ सिलिन्डर अक्सिजन आवश्यक पर्छ। दैनिक कम्तीमा १ सय सिलिन्डर खपत हुनुका साथै थप त्यति नै संख्यामा जगेडामा राख्नुपर्ने कोसी अस्पतालका मेसु डा। चुमनलाल दासले जानकारी दिए।

संक्रमितकै उपचारमा दैनिक ठूलो संख्यामा अक्सिजन सिलिन्डरको आवश्यकता परेको मेसु दासले बताए। यसबाहेक अन्य गम्भीर बिरामीलाई पनि अक्सिजनको आवश्यकता पर्दा व्यवस्थापन गर्न समस्या भइरहेको उनको भनाइ छ। आफ्नै प्लान्ट भए यो झन्झटबाट मुक्ति मिल्ने उनले बताए। अहिले अस्पतालले निजी उद्योगसँग सम्झौता गरी अक्सिजन खरिद गर्दै आएको छ।

अक्सिजन प्लान्ट जडान नहुँदा समस्या भएको कोसी अस्पतालका वरिष्ठ फिजिसियन डा दीपक सिग्देल बताउँछन्। ‘अहिले अस्पतालमा अक्सिजनको चरम आवश्यकता छ, यस्तै समस्या नहोस् भनेर चिकित्सकहरूको संस्थाले १ करोड ७ लाख रूपैयाँ पनि दिइसकेको छन्। रकम निकास भएपछि चाँडै काम सम्पन्न हुनुपर्ने हो,’ उनले भने, ‘अहिलेसम्म काम हुन सकेको छैन।’

अहिले संक्रमितलाई अक्सिजन आवश्यक परिरहेकोले चाँडो प्लान्ट जडान गरिदिन भन्दै आएको उनले बताए। कोसीमा अक्सिजन प्लान्ट जडान भएपछि दैनिक ३ सय सिलिण्डर अक्सिजन उत्पादन हुने अपेक्षा गरिएको छ। ३ सय सिलिण्डर अक्सिजन दैनिक उत्पादन हुँदा कोसी कोभिड युनिटमा भर्ना भएका संक्रमितको उपचारमा सहज हुने अस्पतालले जनाएको छ।

केही दिन समय लाग्ने 

कोसीमा अक्सिजन प्लान जडानको ठेक्का पाएको डाइनोक्यामका एमडी विज्ञान अर्यालयले अक्सिजन उत्पादन गर्ने उपकरण कलकत्ता आइपुगेको जानकारी दिए।

उपकरण  ढिला आइपुग्ने भएकाले अक्सिजन प्लान्ट जडानमा थप केही दिन समय लाग्ने बताए। ‘अक्सिजन उत्पादन गर्ने उपकरण स्लोभाकिया भन्ने देशबाट आउन नै समय लाग्यो। अहिले भारतको कलकत्ता आइपुगेको छ,’ उनले भने, ‘ढिलोमा एक साता भित्रमा कोसीमा अक्सिजन प्लान्ट जडान भइसक्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.