|

संखुवासभा : मकालु गाउँपालिकामा पर्ने मकालु हिमालबाट साढे ६ हजार किलोग्राम फोहोर संकलन गरिएको छ। नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले फोहोर संकलन गरिएको छ।  

मकालु हिमालको आधार शिविरबाट ६ हजार ६०७ किलोग्राम फोहोर संकलन गरेको टोलीमा सहभागी नेपाली सेनाका मेजर रुपकजंग थापाले जानकारी दिए। हिमाल भावी सन्ततिका लागि जोगाउन सरकारले अभियान चलाएको मेजर थापाको भनाइ छ। टोलीले मकालु हिमालको ७ हजार ४०० मिटर उचाईसम्मको फोहोर संकलन गरेको जनाएको छ। उनले फोहोर हेलिकप्टरमार्फत मकालु गाउँपालिकाको नुम ल्याइएको बताए।

फोहोर संकलन गर्न नेपाली सेनाका १० र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गत वैशाख १२ गते मकालु हिमालको आधार शिविर पुगेको थियो। टोलीले जेठ ११ गतेसम्म मकालु हिमालको पहिलो, दोस्रो, तेस्रो र चौँथो क्याम्पमा फोहोर संकलन गरेको थियो। 

यस्तै, सफा हिमाल अभियान अन्तर्गत मकालु, सगरमाथा, ल्होत्से, पुमोरी, धौलागिरि, आमादब्लम हिमालको सरसफाई गरेको टोलीले जनाएको छ। सगरमाथा र ल्होत्से हिमालको जेठ १५ गतेसम्म फोहोर संकलन हुने टोलीले जनाएको छ। ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन टोलीले मकालु हिमालबाट चार हजार आठ सय ८२ किलोग्राम नकुहिने फोहोर र १७ सय २५ किलोग्राम कुहिने फोहोर संकलन गरेको थियो। 

गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेलललाई १७ सय २५ किलोग्राम कुहिने, जल्ने र सड्ने फोहोर बुझाएको टोलीमा सहभागी मेजर थापाले थाहाखवरलाई जानकारी दिए। नेपाल सरकारले हिमाल सफाइका लागि नेपाली सेनालाई वातावरण मन्त्रालयबाट १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.