|

मकवानपुर : असिना पानी र निषेधाज्ञाको मर्का भोगिरहेका उत्तरी मकवानपुरको थाहा नगरपालिकाका किसानलाई हावाहुरीले पनि दु:ख दिएको छ। 

३ दिनदेखि लगातार परेको पानी र हावाहुरीले गर्दा थाहा नगरपालिका–१०, विशुंखेलका किसान थप मर्कामा परेका हुन्। लगातार चलेको हावाहुरी र परेको पानीले यहाँका किसानले लगाएको तरकारी र टनेल नष्ट गरिदिएको छ।

शुक्रबारको हावाहुरी र पानीले वडा नम्वर –१० विशुंखेलमा ठूलो क्षति गरेको किसान विनोद थापाले बताए। उनले तरकारीको सुरक्षाको लागि लगाइएको टनेल भत्केर सबै नष्ट भएको बताएको बताए। ‘टनेलको सबै संरचना भाँचिएको छ, प्लाष्टिक पनि अब प्रयोग गर्नै नमिल्ने भएको छ। टनेल बाहिरको मात्रै नभएर भित्र लगाइएको तरकारी पनि पुर्ण रुपमा ध्वस्त भएको छ,’ उनले भने।

थापाका अनुसार भर्खरै फुल्दै गरेका खुर्सानीको फुल सबै झरेका छन् भने बोट पनि भाँचिएको छ।  बैशाखमा असिनापानी आउँदा बन्दामा दाग लागेर बिक्री नभएपनि मर्का खेपेका त्यहाँका किसानलाई निषेधाज्ञाले थप समस्यामा पारेको थियो।

‘बैशाख १६ गते आएको असिनाले तरकारीमा दाग लाग्यो, लगत्तै निषेधाज्ञा भयो, जसले गर्दा हाम्रो तरकारी बिक्री भएको थिएन, बल्ल काउली र खुर्सानीलगायत तरकारी फल्ने र बेच्ने बेला भएको थियो, हुरीले सबै ध्वस्त पारिदियो,’ थापाले भने।

हावाहुरीले सोही स्थानका अर्का किसान कर्णबहादुर गोपालीको तरकारी खेतीमा पनि निकै क्षति गरेको छ। करिब २७ रोपनीमा विभिन्न तरकारी खेती गरेका उनको पनि हावाहुरीले टनेल मात्रै भाँचिएन, तरकारीका बिरुवा नै सखाप पारिदिएको छ। 

अर्काको जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका उनलाई यस वर्षमात्रै ३ पटक बज्रपात परिसक्यो। बैशाखमा आएको असिना, त्यसपछि भएको निषेधाज्ञा र अहिलेको हावाहुरीले उनलाई समस्यामाथि अर्को समस्या थपिएको छ।

४० हजार बोट काउली लगाएका उनले हालसम्म १७० बोट मात्रै बेचेका छन् भने बाँकी काउलीमा असिना र पानीले दाग लागेको छ। बन्दले गर्दा समयमा काउली काट्न नपाउँदा फुलेर खेर गइरहेको उनले गुनासो गरे।

थाहा नगरपालिकाको ६ र १० नम्बर वडाका प्रायः सबै स्थानीय बासिन्दा व्यवसायिक रुपमा तरकारी खेतीमा संलग्न छन्। केही दिनदेखि परेको पानी र शुक्रबार चलेको हावाहुरीले १० नम्वर वडामा धेरै क्षति पुर्‍याएको छ।

थाहा नगरपालिकाको मेयर लवशेर बिष्टले १० नम्वर वडाको कृषि क्षेत्रमा ठूलो क्षति पारेको र आफू त्यहाँ अवलोकन गर्न जान लागेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.