|

काठमाडौं: नेकपा (एमाले) को स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा सम्बन्धी ऐन शंसोधनका लागि सरकारलाई बुँदागत सुझाव दिएको छ।

विभाग प्रमुख खगराज अधिकारीको नेतृत्वमा गएको टाेलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई सोमबार भेटी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशमा सुधार गर्न सुझाव दिएको हो ।

केही समययता विभिन्न निउँमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण हुन थालेपछि सरकारले कानुन संसोधन गरि सुरक्षा दरिलो बनाउन लागेको स्वस्थ्य मन्त्रालय स्रोतले बताएको छ।

सुझाव लिँदै मन्त्री त्रिपाठीले उठाइएका विषयमा ध्यानाकर्षण भएको बताउँदै मस्यौदा कानुन मन्त्रालयमा पठाइ सकिएकोले सम्बन्धित मन्त्रालयको समेत ध्यानाकर्षण गराउन सुझाव दिएका थिए।

दिइएका सुझावमा गाली गलौज, अपमान तथा सामाजिक संजालमा तथ्यहीन अफवाह फैलाउनेलाई समेत सजायको व्यवस्था हुनुपर्ने, धेरै ठूलो संयन्त्र बनाउँदा बैठकको निम्ति जुट्नै गाह्रो हुने , समितिलाई ९ देखि ११ सदस्यीय बनाउने र त्यसमा सम्बन्धित काउन्सिल प्रतिनिधि राख्न भनिएको छ ।

समितिमा सरकारी प्रतिनिधिको बहुमत हुनेगरी नेपाल चिकित्सक संघ, नेपाल दन्त चिकित्सक संघ र नेपाल नर्सिङ संघको प्रतिनिधि राख्न उपयुक्त हुने पनि सुझाइएको छ ।

कानुनको व्यवस्था संगठित संस्थामा कार्यरत स्वास्थ्यकर्मीको हकमा समेत सधैं लागु गर्न भनिएको छ ।

घटनामा संलग्न मतियारलाई ३ बर्ष र मुख्य दोषीलाई ५ बर्ष न्युनतम सजाय तोक्नु पर्ने भन्दै स्वास्थ्य आपतकाल घोषणा भएको वा विपद् संकटग्रस्त क्षेत्र घोषणा भएको वा सङ्क्रामक रोग निर्मुल वा रोकथाम गर्न आदेश जारी भएको अवस्थामा सजाय दोब्बर हुनुपर्ने  सुझाव दिइएको जनाइएको छ।

यसका साथै संक्रामक ऐन सकृय भएको र अन्य संकटकाल लागु भएको अवस्थामा संगठित संस्थामा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको कर्तव्यपालनका सिलसिलामा ज्यान गएमा कम्तिमा २५ लाखको स्वास्थ्य बीमा हुनुपर्ने सुझाव अगाडि सारिएको छ।

सुझावमा संक्रामक ऐन सकृय भएको र अन्य संकटकाल लागु भएको अवस्थामा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको   निःशुल्क स्वास्थ्योपचारको विशेष व्यवस्था गरिनु पर्ने उल्लेख गर्दै एक चिकित्सक/एक स्वास्थ्यकर्मी, एक संस्थाको व्यवस्था र कार्य बोझ अनुरुप चिकित्सक, दन्त चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी थप गर्न भनिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.