|

जाजरकोट : जाजरकोट, रुकुम पश्चिम र डोल्पाका स्थानीय तहले आन्तरिक मूल्यांकन गरेर वार्षिक नतिजा प्रकाशनको तयारी गरेका छन्‌। सामुदायिक तथा निजी विद्यालय बन्द भएको लामो समय भइसकेको र नयाँ शैक्षिक सत्र शुरू हुने समय भइसकेको भन्दै यस्तो तयारी गरिएको हो।

कोरोना भाइरसको दोस्रो भेरियन्ट शुरू हुनुभन्दा अघिसम्म सबै स्थानीय तहमा नियमित पठनपाठन भएको थियो। यी जिल्लाका सबै स्थानीय तहका अधिकांश विद्यालयले करिब ८० प्रतिशत पाठ्यभार पढाएको बताएका छन्‌।

​जाजरकोटको नलगाड नगरपालिकाले शैक्षिक सत्र २०७७ मा सञ्चालित त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्यांकन आधारमा नतिजा तयार पारी सार्वजनिक गर्न मातहतका विद्यालयलाई भनेको छ। नगरका सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०७७ को नतिजा तयार पारी प्रकाशन गर्न भनिएको नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिए। 

उनका अनुसार कक्षा ५ र ८ को नतिजा तयार पारी जेठ २० गतेभित्र नगरपालिकामा बुझाउन निर्देशन दिइएको छ। जेठ २५ गतेभित्र कक्षा १, २, ३, ४, ६, ७ र ९ को पनि नतिजा तयार पारी विद्यालयमा टाँस्न भनिएको उनले बताए। शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार नगरपालिकामा झन्डै ८५ देखि ९० प्रतिशत कोर्स पूरा भएको छ। 

‘अब पुरानै शैक्षिक सत्रको पठनपाठन सम्भव छैन,’ उनले भने, ‘कोर्स पनि करिब पूरा भइसकेको सन्दर्भमा पुरानो शैक्षिक सत्रको नतिजा तयार पारी नयाँ वर्षको शुरूवात गर्ने तयारी भइरहेको छ।’ कोरोना महामारी कम हुनेबित्तिकै नयाँ शैक्षिक सत्र असारबाट शुरू गर्ने तयारी गरिएको उनले बताए। 

भेरी नगरपालिकामा रहेका निजी विद्यालयले पनि त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्यांकन आधारमा नतिजा तयार पारेर नतिजा प्रकाशन गर्न लागेको बताएका छन्। 

त्यस्तै, रुकुम पश्चिममको चौरजहारी नगरपालिकाले आन्तरिक मूल्यांकनको कार्यविधि तयार पारेको छ। शुक्रबार बसेको नगर कार्यपालिका बैठकले कार्यविधि पारित गरेको र अब कार्यविधि अनुसार विद्यालयहरूलाई मूल्यांकन गरी नतिजा बनाउन निर्देशन दिइने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए। 

बाँफिकोट गाउँपालिकाले पनि आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गर्न परिपत्र गर्ने तयारी गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले बताए। आठबीसकोट नगरपालिका पनि आन्तरिक मूल्यांकनबाटै गर्न लागिएका नगरप्रमुख गोरखबहादुर केसीले बताए।

रुकुम पश्चिमा ६ वटा स्थानीय तहले आन्तरिक मूल्यांकनलाइ आधार बनाएर नतिजा प्रकाशित गर्न तयारी थालेका छन्। 

त्यस्तै, डोल्पाको ठूलिभेरी नगरपालिकाले पनि आन्तरिक मूल्यांकनकै आधारमा नतिजा प्रकाशन गर्ने तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकायाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.