|

बैतडी : शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले जिल्ला अस्पताल बैतडीलाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ। बैतडीमा अक्सिजन सहयोग अभियान सञ्चालन गरिरहेको प्रतिष्ठानले ५ थान  कन्सन्ट्रेटर खरीद गरेको र तीमध्ये दुई थान जिल्ला अस्पताललाई प्रदान गरेको हो।

प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले  जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीलाई  अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्। अध्यक्ष चन्दका अनुसार  प्रतिष्ठानले ५ वटा कन्सन्ट्रेटर खरीद गरेको र ती मध्ये दुई थान जिल्ला अस्पताललाई दिइएको छ भने पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकालाई एक-एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नेछ।

१० लिटरका अक्सिजन कन्सन्ट्रेटरमा प्रतिथान १ लाख २० हजार रुपैयाँमा खरिद गरेको हो। यसअघि प्रतिष्ठानले अस्पताललाई ४० लिटरका ६ थान अक्सिजन सिलिण्डर पनि हस्तान्तरण गरेको थियो।यस्तै खाली सिलिण्डरहरु पनि भरिदिने काम र ढुवानी गरिदिने काम पनि प्रतिष्ठानले गरिरहेको छ। यसका साथै प्रतिष्ठानले यसअघि स्वास्थ्य कार्यालयलाई महामारीसम्मका लागि एम्बुलेन्स समेत उपलब्ध गराएको थियो। 

अक्सिजन सहयोग अभियानअन्तर्गत अहिले सम्म ९ लाख ९० हजार रकम संकलन भएको जनाइएको छ।  जिल्लामा अक्सिजन अभाव भएकोले  अभियान सञ्चालन  गरिएकोमा  देश तथा विदेशमा रहेका विभिन्न व्यक्तित्वबाट सहयोग भएको अभियानका सदस्य महेशदत्त भट्टले बताए। 

अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो।

अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएपछि अस्पतालमा अक्सिजन आपूर्तीमा सहज हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीको  विश्वास रहेको छ।

यसैबिच  नेपाल रेडक्रस सोसाइटीले जिल्ला विपद् व्यवस्थापन समिति बैतडी, सुरक्षा निकाय र स्वास्थ्य कार्यालयलाई  स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस् भनेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश समितिका उपमहासचिव तेजप्रकाश भट्टले बताए। चाइना रेडक्रसको सहयोगमा प्राप्त भएका विभिन्न स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश समितिका तर्फबाट हस्तान्तरण गरिएको हो। 

जिल्ला विपद् व्यवस्थापन समितिलाई १० हजार थान मास्क, एक थान अक्सिजन कन्सन्ट्रेटर र २५ थान पिपिई हस्तान्तरण गरिएको  हो। यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीले पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। चारवटै कार्यालयलाई १ हजारका दरले मास्क वितरण गरिएको छ भने नेपाली सेनालाई ७ ओटा डेथ बोडी बेग पनि हस्तान्तरण गरिएको हो।

 अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई सहयोग होस भनेर स्वास्थ्य सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयले बताए। 

यसका साथै ह्युमिनीटी फाउण्डेसन नेपालले उपलब्ध गराएको स्वास्थ्य सामग्री बैतडीको गुरुखोला स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको छ। फाउण्डेसनले उपलब्ध गराएको ५ थान बेड र २ हजार मास्क गुरुखोला स्वास्थ्यचौकीका प्रमुख लवदेव भट्टलाई हस्तान्तरण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.