|

धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी र नेकपा एमालेका प्रदेश सचिव राजेन्द्र रावल एकअर्कामाथि धक्कामुक्कामा उत्रिएका छन्। 

मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्न निर्देशनसहित पार्टीको पत्र दिन रावल सोमबार मन्त्रालयमा पुगेका थिए। त्यसक्रममा मन्त्री सोडारीले आफूमाथि धक्कामुक्का गर्दै हातपात गरेका प्रदेश सचिव रावलले आरोप लगाएका छन्। 

‘म पार्टीको केन्द्रीय कमिटीको निर्देशनअनुसार विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशनसहितको पत्र बुझाउन उहाँको कार्यकक्षमा पुगेको थिएँ,’ रावलले भने, ‘उहाँले मलाई धक्कामुक्का गरेर कार्यकक्षबाट बाहिर निकाल्नुभयो। स्वकीय सचिवसहित सुरक्षाकर्मीले मलाई दुर्व्यवहार गरे।’

त्यसक्रममा आफ्नो चश्मा, पर्सलगायतका सामानसमेत मन्त्रालयमै छुटेको उनको दाबी छ। उनले मन्त्रीलाई कारबाही गर्न माग गर्दै भोलि मंगलबार प्रहरीकहाँ जाने बताएका छन्।

मन्त्री सोडारीको सचिवालयले भने प्रदेश सचिव रावलले मन्त्रीमाथि दुर्व्यवहार गरेको दाबी गरेको छ। मन्त्रीका स्वकीय सचिव ललितबहादुर बोहराले विज्ञप्ति जारी गर्दै रावलले कार्यकक्षमै प्रवेश गरेर मन्त्रीमाथि अभद्र व्यवहार गरेको बताएका हुन्।

‘कञ्चनपुर जिल्ला बस्ने क.राजेन्द्र रावलले मन्त्री ज्यूको कार्यकक्षमा प्रवेश गरी प्रदेशसभाको विषयमा कुरा गर्दै अभद्र व्यवहार गरेकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

सोडारी माधवकुमार नेपाल पक्षबाट मन्त्री बनेका हुन् भने प्रदेश सचिव पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट हुन्। १० जेठमा बसेको एमालेको स्थायी कमिटी बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

तर प्रदेश संसदीय दलले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो। त्यसपछि एमालेका ३ मन्त्रीलाई राजीनामा दिए भने ४ मन्त्री र ३ राज्यमन्त्री थपिए।

एमालेभित्र विवाद कायमै रहेका बेला मुख्यमन्त्री भट्ट भोलि बिहान ९ बजे प्रदेशसभामा विश्वासको मत लिँदै छन्। माधव पक्षले उनको पक्षमा मत दिने तयारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.