जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु पर्ने माग गर्दै शुक्रबार प्रदर्शन गरेका छन्।
सरकारले अध्यादेशमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्न ल्याएको कानुन बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै नागरिकता वितरणमा रोक लगाएपछि प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा नागरिकताबाट बञ्चित युवाहरूको सहभागिता थियो। उनीहरू प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
प्रदर्शनका सहभागी युवाले जन्मसिद्ध नागरिकता भएका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर, जन्मसिद्धका सन्तानलाई–नागरिकता दे, गैरनागरिक बनाउन–पाइँदैन, देशका असल नागरिक– पहिचान गर, संविधान संशोधन छिटो गर जस्ता नारा लगाएका थिए।
ढल्केबर स्थित खानेपानी कार्यालय अगाडिबाट निकालिएको विरोध प्रदर्शन ढल्केबर चोकको विभिन्न भागमा परिक्रमा गर्दै शहिद स्मार्क पार्क अगाडि पुगेर कोणसभामा परिणत भएका थियो।
कोणसभामा बोल्दै युवा इन्द्रजीत साफीले संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका हजारौं नेपालीका सन्तान अझै पनि नागरिकताविहीन रहेको बताए।
उनले नागरिकता प्राप्त गर्न नसकेकै कारण उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार भएर बस्नुपरेको र राहदानी बनाउन नसकेर वैदेशिक रोजगारीमा जानबाट समेत बञ्चित हुनुपरेको पीडा व्यक्त गरे।
बैंक खाता खोल्नबाट समेत बञ्चित हुनु परेको पीडा पोख्दै भने, ‘म सिभिल इन्जिनियर भएर नागरिकता नभएकै कारण बेरोजगार भएर बस्नु परेको छ। सरकार तथा सर्वोच्च अदालतसँग पीडा बुझिदिन आग्रह गर्दछु।’
सरकारले अध्यादेशमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्ने कानुन ल्याएपछि खुसियालीमा दीपावली समेत मनाएका युवाहरू बिहीबार सर्वोच्च अदालतको निर्णयबाट पुनः निराश बनेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।