|

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकाको आठौं नगरसभाको क्रममा स्थानीयबासीले विरोध प्रदर्शन गर्दा स्थिति तनावपूर्ण बनेको छ।

नगरसभा सुरु भएपछि स्थानीयबासी आफ्ना माग सम्बोधन गराउन सयौंको संख्यामा प्लेकार्ड ब्यानरसहित नाराबाजी गर्दै कार्यक्रम स्थल पुगेका थिए।

नगरसभाबाटै माग सम्बोधन हुनुपर्ने भन्दै स्थानीय चर्को नाराबाजी गर्दै सभास्थल घेराउ गरेपछि मेयर हरिनारायण महतो आक्राेसित बन्दा माहोल अशान्त बनेको हो।

मेयरको व्यवहारले आक्रोशित स्थानीयले नगरसभाको लागि बनाइएको प्रवेशद्वार, टेन्ट तोडफोड गर्दै केहीबेर पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध गरे। स्थिति तनाबग्रस्त बनेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको थियो।

राधाकृष्ण मन्दिरको सभाहल भित्र नगरसभा चलिरहेको छ भने बाहिर स्थानीयले मेयर विरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।

संघीय सरकारले मिथिला नगरपालिकाको ढल्केवरलाई तोकेर ट्रमा सेन्टर निर्माण गर्न बजेट विनियोजन गरेको केही दिनपछि सो ट्रमा सेन्टर मेयर महतोको पहलमा अन्यत्र सार्ने निर्णय गरेको खबर बाहिरिएपछि ढल्केवरबासी आन्दोलित भएका छन्।

सरकारले तोके कै स्थानमा ट्रमा सेन्टर निर्माण हुनुपर्ने उनीहरुको माग छ। ट्रमा सेन्टर ढल्केवर मै निर्माण हुनुपर्ने माग राख्दै स्थानीयबासीले जसपाका नेता चन्देश्वर महतो र नेपाली कांग्रेसका बुधेश्वर महतोको संयोजकत्वमा ५१ सदस्यीय संघर्ष समितिसमेत गठन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.