|

दाङ : निरन्तर वर्षापछि खोलाहरूमा आएको बाढीका कारण तुलसीपुर–घोराही– लमही सडक खण्ड अवरुद्ध भएको छ। खोलाहरूमा पुल नहुदाँ आएको बाढीका कारण सडक अवरुद्ध भएको हो।

तुलसीपुर – घोराही सडक खण्डमा पर्ने पत्रेखोला, हापुर र सेवार खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सबै भन्दा बढि पत्रेखोला बाढीको बहाव बढेको छ। त्यस्तै घोराही – लमही सडक खण्ड अन्तर्गत पर्ने सिस्ने खोलामा पनि आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

बाढीका कारण साना तथा ठूला कुनै पनि सवारीका साधन आवत जावत गर्न सकेका छैनन्।  उनले नदी तथा खोलामा पानीको बहाव बढेकाले सचेत रहन समेत आग्रह गरेका छन्।

घोराहीको सिस्ने खोला र पत्रेखोला पुल समयमै नबन्दा सास्ती भोग्नु परेको छ। निर्माण सुरु भएको ६ वर्षसम्म पुल बन्न नसक्दा खोला तर्न स्थानीयले सास्ती भोग्नु परेको छ।

घोराही–११ मा रहेको बगाले खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । शनिबार दिउँसो खोला तर्ने क्रममा एक महिला बेपत्ता भएको प्रहरीले जनाएको छ। महिलाको परिचय खुल्न नसकेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.