|

धनगढी : ठेकेदारको लापरबाहीका कारण धनगढीमा सडक निर्माणको काम अलपत्रको काम अलपत्र परेको छ।

ठेकेदार र कम्पनीको लापरबाहीकै कारण धनगढी उपमहानगरपालिकाको वडा नम्वर १५ कनरीमा १३० मिटरको सडक निर्माणको काम अलपत्र परेको हो। ठेकेदार भने सडक निर्माणको काम अलपत्र पारेर सम्पर्कमै नआएको बताइएको छ।

असार मसान्तभित्रै सम्पन्न गर्ने गरी दुवैतिर नालीसहित कालोपत्रे सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको भए पनि निर्माणको काम भने अझै सुरु भएको छैन। स्थानीयले पटक पटक सडक निर्माणका लागि ठेकेदारलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै गुनासो गरेका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षभित्रै धनगढी कनरीस्थित बसन्त टोलभित्र दुवैतिर नालीसहित कालोपत्रे सडक निर्माणका लागि युनिटी कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो।

असार मसान्तभित्रै नालीसहित एक सय ३० मिटर लामो कालोपत्रे सडकका लागि पूर्वाधार विकास कार्यालय कैलालीले युनिटी कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको भए पनि अहिलेसम्म कुनै काम हुन सकेको छैन।

असार मसान्त सकिनै लाग्दासमेत सडक निर्माणको ठेक्का पाएको ठेकेदारले सडकको अवस्था हेर्नसमेत नआएको कनरीस्थित बसन्त टोलका स्थानीय केशवराज जोशीले बताए।

‘बजेट विनियोजन हुने, ठेक्का सम्झौता पनि हुने तर काम नहुने प्रवृत्तिले हिलाम्य सडकका कारण सास्ती खेप्नु परिरहेको छ,’ उनले भने। ठेकेदार कम्पनीले २/३ ट्रली ढुङ्गा फालेर बाँकी प्रक्रिया नै अलपत्र परेको भन्दै स्थानीयले हिलाम्य सडक निर्माणको माग गर्दै आएका छन्।'

सडक निर्माणका लागि ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिका कारण वर्षौदेखि आफूहरू विकासबाट विभेदमा पर्ने गरेको बसन्त टोलबासीले गुनासो गर्दै आएका बेला ठेकेदार कम्पनीले भने सडक निर्माणको काम असार मसान्तभित्रै सक्नुपर्नेमा निषेधाज्ञाका कारण कामदार र निर्माण सामग्री पाउनै समस्या भएको दाबी गरेका हुन्। 
नालीसहितको पक्की सडक निर्माणका लागि ११ लाखमा ठेक्का सम्झौता भएको युनिटी कन्ट्रक्सन धनगढीका सञ्चालक भोजराज रेग्मीले बताए। निर्माण सामग्री र कामदार पाउन समस्या भएपछि यसअघि नै सकिने काम अधुरै रहेको उनले बताए।

निषेधाज्ञाका कारण निर्माणमा थप समस्या भएको उनको भनाइ छ।

पूर्वाधार विकास कार्यालय कैलाली अन्तर्गत चालु आर्थिक वर्षभित्रै निर्माण गरिसक्नुपर्ने दर्जनौं सडक निर्माणका योजना भए पनि अधिकांश योजनाको निर्माण कार्य आर्थिक वर्ष सकिनै लाग्दासमेत सुरु हुन सकेको छैन।

चालु आर्थिक वर्षका लागि तोकिएकै समयमा निर्माण सम्पन्न हुन नसक्ने योजनालाई क्रमागत योजनाको रुपमा राखेर मंसिरभित्र काम गरिसक्नुपर्ने गरी प्रक्रिया थालिएको पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ।

कनरीको बसन्त टोलमा नालीसहित पक्की सडक निर्माणको काम भने असार मसान्तभित्रै सक्नुपर्ने पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्याम खड्काले बताए। ‘केही समयअघि मात्र पक्की नाली र कालोपत्रे सडकका लागि निर्माण सम्झौता भएको हो,’ उनले भने। 

तर, ‘अहिले काम रोकिएको छ भन्ने निर्माण कम्पनीलाई सम्पर्क गरेर निर्माण कार्य अघि बढाउन सम्पर्क गर्ने जानकारी उनले गराए। निषेधाज्ञाका कारण असारमा सम्पन्न नहुने योजनाहरूलाई क्रमागत योजनाको रुपमा अघि बढाएको समेत उनको भनाइ छ।

धनगढी उपमहानगरपालिकाभित्र संघ, प्रदेश र स्थानीयका गरी सयौँ साना ठूला सडक निर्माणका योजना रहे पनि कतै सडक भत्काएर छोडिएको छ भने कतै कामको सुरुवात समेत नभएकै कारण उपमहानगरपालिकाभित्र नगरबासीले यतिबेला हिलाम्य सडकको यात्रा गर्न बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.