|

जनकपुरधाम : धनुषामा बलात्कार घटनाका एक आरोपी आज जेल चलान भएका छन्। 

जिल्ला अदालत धनुषाको आदेशले बलात्कार घटनाका आरोपी धनुषाधाम नगरपालिका–२ काशीपुरका २८ वर्षीय श्याम साहलाई कारागार चलान गरेको हो।न्यायाधीश ध्रुवप्रसाद बाँस्कोटाको एकल इजलाशले साहलाई पुर्पक्षका लागि सुनसरीस्थित झुम्का कारागार चलान गरेको हो। 

गत जेठ १६ गते एक २५ वर्षीया महिलाको घरमा जबरजस्ती प्रवेश गरी लुटपाट गर्नुका साथै उनले बलात्कारसमेत गरेका थिए। 

धनुषाधाम नगरपालिकास्थित घरमा सुतिरहेको अवस्थामा जेठ १६ गते राति ती महिलामाथि बलात्कार भएको थियो। पीडितका अनुसार चिनजानका ती आरोपीले घरको ढोका फोडेर घरभित्र प्रवेश गरी मुख थुनी बलात्कार गरेका थिए। ती आरोपीले घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्कीसमेत दिएका प्रहरीले जनाएको छ। 

पीडितले जेठ १७ गते इलाका प्रहरी कार्यालय धनुषाधाममा दिएको उजुरीका आधारमा सोही दिन आरोपीलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका उनीमाथि जबरजस्ती करणी र डाँका मुद्दामा कारबाही बढाइएको थियो। 

अनुसन्धानपछि प्रहरीले आरोपीलाई आज अदालतमा पेस गरेको थियो। अदालतले जबर्जस्ती करणी र डाँका मुद्दामा थुनछेक बहसबाट थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.