|

भक्तपुर : गत वैशाख १२ गते बिहान पौने ५ बजे भक्तपुर कमलविनायक डेरा गरी बस्ने सुनिता (नाम परिवर्तन) मर्निङ वाक जाँदै थिइन्। 

कमलविनायकस्थित प्लानिङको भित्री बाटो पैदल हिँडिरहेको अवस्थामा मोटरसाइकलमा आएका एक पुरुषले छातीलगायतका संवेदनशील अंगमा समाई फरार भए।

सुनिताले तत्काल घटनाको बारेमा प्रहरीलाई जानकारी गराइन्। तर मोटरसाइकल नम्बर र ती पुरुषको हुलिया पत्ता नलाग्दा प्रहरीले अनुसन्धान जारी राखे पनि पक्राउ भने गर्न सकेको थिएन।

त्यस्तै गत असार ४ गते बिहान ५ः ४५ बजेको समयमा भक्तपुरस्थित एक एफएम रेडियोमा कार्यरत महिला पत्रकार सरला (नाम परिवर्तन) कार्यालय जाँदै गर्दा अरनिको राजमार्गस्थित आदर्श चोक नजिक जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको मोटरसाइकल अचानक मोडेर अश्लिल शब्द उच्चारण गर्दै सरलाको पिछा गरे।

सरला डरले अलि छिटो छिटो हिँडिछन्, तर ती पुरुषले अगाडिबाट बाटो छेकी अभद्र व्यवहार मात्र गरेनन् आफ्नो यौनाङ्ग देखाएर दुर्व्यवहार समेत गरे। त्यही बेला मोवाइल निकाल्दै फोटो खिचेर प्रहरीलाई जानकारी गराउने धम्की दिएपछि ती पुरुष मोटरसाइकल तिब्र गतिमा हुँक्याई फरार भए। सरलाले भाग्दै गरेका पुरुषको मोटरसाइकलको नम्बरसहितको फोटो खिच्न भ्याइन तर अल्फाबेट प्रष्ट देखिएन।

पीडित सरलाले घटनाको चार दिनपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको अगुवाइमा प्रहरीमा लिखित उजुरी गरिन। मोटरसाइकलको नम्बरको आधारमा अनुसन्धान र खोजतलास गर्दा अन्ततः प्रहरी ती पुरुषलाई पक्राउ गर्न सफल भएका छन। 

ती पुरुषलाई भक्तपुरको कमल विनायकबाट मंगलवार पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरिक्षक राजेश थापाले बताए। पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका–५ रुपाकोट घर भई हाल चाँगुनारायण नगरपालिका–६ भत्केको पाटी नजिक बस्ने ३६ वर्षिय चमार सिं तामाङ छन्।

‘गत पुसदेखि यस्ता उजुरी आएपछि धेरै प्रयास गरेका थियौं अहिले आएर पक्राउ गर्न सफल भयौं,’ प्रनाउ थापाले भने। भक्तपुरको कमलविनायक र च्याम्हासिंहबाट क्षेत्रमा बटुवा महिला तथा बालबालिकाहरूको संवेदनशिल अंगमा समाइ दुव्र्यवहार गरेका घटना भएको भन्दै पीडितहरूको उजुरी बढेपछि घटनामा संलग्नलाई रेकी गरेर पक्राउ गर्न तीन महिला प्रहरी जवानलाई आधुनिक पहिरनमा घटनास्थलमा परिचालन गरेको प्रनाउ थापाले बताए। 

अनुसन्धानका क्रममा तामाङले गत पुसदेखि बिहान उज्यालो नहुँदै र साँझ अँध्यारो भएपछि मोटरसाइकलमा सवार भई एकान्तस्थानमा पैदल हिँडिरहेकी महिला तथा बालिकाहरूको संवेदनशील अंगमा समाउने र छातीलगायतका अंगमा हिर्काएर भाग्ने गरेको खुल्न आएको प्रनाउ थापाले जानकारी दिए। 

प्रनाउ थापाका अनुसार तामाङले १४ वर्षिया बालिकादेखि ६० वर्षिय महिला समेतलाई दुव्र्यवहार गरेको खुल्न आएको छ। शुरूका केही घटनामा महिलाहरुको संवेदनशिल अंगमा समाएर दुव्र्यवहार गर्ने गरेका तामाङले पछिल्ला घटनाहरूमा भने यौनाङ्ग देखाउने गरेको पाइएको प्रनाउ थापाले बताए।

पछिल्लो घटनामा मोटरसाइकलको अल्फाबेट नखुले पनि नम्बर खुलेपछि अनुसन्धानलाई थप तिब्रता दिएको बताउँदै प्रनाउ थापाले भने, ‘केही शंकास्पदलाई सोधपुछ गर्नुका साथै सुक्ष्म तरिकाले अनुसन्धान गर्नेक्रममा आरोपीको पहिचान खुल्यो र पक्राउ गर्न सफल भयौं।’

भाग्ने क्रममा मोटरसाइकलको बत्ति निभाएर भाग्ने गरेकाले मोटरसाइकलको नम्बर पहिल्याउन नसकेको पीडित सुनिताले बताइन्। ‘हेल्मेटको भाइजरले मुहार छोप्ने, कालो ज्याकेट लगाएर आउने, घटना गरे लगत्तै मोटरसाइकलको हेडलाइट निभाएर भाग्ने गर्दथे,’ सुनिताले भनिन्।

तामाङलाई पक्राउ गरेको खबरले एक दर्जन भन्दा बढी पीडित महिलाहरु प्रहरीको सम्पर्कमा आएको र त्यसमध्ये ६ जनाले किटानी जाहेरी समेत दिएका छन्। तामाङले एकै महिलालाई तीन पटकसम्म दुर्व्यवहार गरेको पीडित महिलाहरुले बताएका छन्। 

सुनिताले भनिन्, ‘मलाई यो मान्छेले तीन पटकसम्म हातपात गरेको छ। एक पटक छातीमा हातपात गर्दा केही दिन छाति दुखेर सकस भएको थियो।’ तामाङलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयमा पेश गरेर प्रमुख जिल्ला अधिकारीबाट सात दिनको म्याद थप भएको प्रहरीले जनाएको छ। 

प्रहरीले तामाङलाई सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा समेत मुद्दा चलाउने भएको छ। तामाङलाई ५ वटा अभद्र व्यवहार र एक वटा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ। 

भक्तपुरमा एकै पटक एक व्यक्तिलाई ६ वटा मुद्दामा कारवाही चलाएको सम्भवतः यो पहिलो घटना हुनसक्ने प्रहरीको दाबी छ। 

यसैबीच नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले घटनामा संलग्न तामाङलाई कडा भन्दा कडा सजायको माग गरेको छ।  तामाङलाई पक्राउ गरे लगत्तै शाखा अध्यक्ष जगतकृष्ण प्रजापति र सचिव सञ्जिव घिमिरे महानगरीय प्रहरी वृत्त जगाती पुगेर वृत्त प्रमुख प्रनाउ थापा समक्ष सो माग गरेको हो। 

‘हेर्दा समान्य देखिए पनि यो एक प्रकारको जघन्य अपराध हो, यस्तो मनोवृत्तिका आरोपीलाई कडा भन्दा कडा कारवाही नगर्ने हो भने महिलाहरु स्वतन्त्रता पूर्वक हिँडडुल गर्न नसक्ने अवस्था आउन सक्छ,’ महासंघ अध्यक्ष प्रजापतिले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.