|

हेटौंडा : बागमती प्रदेशमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको २४ दिन बितिसक्दा पनि बजेटमाथिको छलफल बढ्न सकेको छैन। 

एकल बहुमतको सरकार बनाएको एमाले नै दुई कित्तामा बाँडिएपछि बागमती सरकारले बजेटमाथिको छलफल बढाउन नसकेको हो। प्रदेशमा रहेका सबै प्रतिपक्षी एकतर्फी उभिँदा पनि बहुमत पुग्ने एमालेभित्रै मतभेद हुँदा यतिबेला प्रदेश सरकारलाई संसदबाट बजेट पास गर्न सकस परेको छ।

केन्द्रदेखि स्थानीय स्तरसम्म देखिएको एमालेको केपी ओली र खनाल–नेपाल गुट बागमती प्रदेशमा पनि हाबी भएको छ। सरकार प्रमुख मुख्यमन्त्री डोरमणि पौडेलले ओली पक्षलाई मात्रै बजेट बाँडेको आरोप खनाल–नेपाल पक्षको छ।

प्रतिपक्षको अवरोधले गर्दा संसद बैठक स्थगित गरिएको भनिए पनि सत्तापक्षलाई नै मिलाउन नसक्दा सरकार संसदमा कमजोर देखिएको छ। यद्यपि सत्ता र प्रतिपक्ष दुवैसँग छलफल नगरी शनिबारका लागि संसद बैठक भने डाकिएको छ।

प्रदेशमा रहेका एमालेको ५६ सांसदमध्ये एक जनाले मात्रै विपक्षमा उभिए प्रदेश सरकारको आगामी वर्षको बजेट नै फेल हुने सम्भावना छ। हाल रहेको १०९ प्रदेशसभा सदस्यमध्ये प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२ , विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र गरी ५३ जना सांसद सरकारको विपक्षमा छन्।

प्रदेशसभामा रहेको सम्पूर्ण प्रतिपक्षी जोड्दा पनि ३ अंकले अघि रहेको एमाले एकजुट नहुँदा संसदबाट बजेट पास गर्न सरकारलाई सकस पर्ने देखिन्छ। यतिबेला प्रदेश सरकार एकतर्फी विपक्षी दलको अवरोध र अर्कोतर्फ सत्तापक्षकै असन्तुष्टिको घेरामा परेको छ।  ​

माग पूरा नगरे बजेट पास गर्न गाह्रो पर्छ : खनाल–नेपाल पक्ष

बागमती प्रदेश सरकारले आगामी आवको लागि ल्याएको बजेटप्रति सत्तापक्षकै सांसदहरूले सदनमा खुलेर विरोध गरिरहेका छन्। सरकारले गुटगत रुपमा बजेट ल्याएको भन्दै सत्तापक्षको खनाल–नेपाल समुह असन्तुष्ट छ। 

 खनाल–नेपाल समुहका सांसद राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रम पास गर्दा जस्तो बजेट पास गर्न सरकारलाई सहज नहुने बताएका छन्। उनले सरकारले आफूनिकट सांसदलाई मात्रै बोलाएर बजेट बाँडेको भन्दै सन्तुलित रुपमा बजेट विनियोजन नभएसम्म सरकारलाई सहयोग नगर्ने चेतावनी दिए।

थाहाखबरसँग कुरा गर्दै पाण्डेले भने ‘ नीति तथा कार्यक्रम पास गर्दा जस्तो हामी झुक्किदैँनौ बजेट पास गर्दा। हाम्रो माग पूरा नगरे बजेट पास गर्न सरकारलाई गाह्रो पर्छ।’

पाण्डेले सरकारले गुटगत रुपमा अनावश्यक ठाउँमा बजेट विनियोजन गरेको भन्दै सन्तुलित ढंगले बजेट नल्याएसम्म सत्तापक्षभित्रको प्रतिपक्ष बनेर बस्ने टिप्पणी गरे।

उनले ठुला र बहुवर्षीय योजना आवश्यक नै नभएको रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा ओली पक्षको सांसदको निर्वाचन क्षेत्रमा बजेट छुट्याएको आरोप लगाए। सिन्धुपाल्चोकमा प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री सरेस नेपाल, नुवाकोटमा कानुनमन्त्री केशव पाण्डे र रसुवामा सांसद शान्ति थिङको निर्वाचन क्षेत्रमा सरकारले ठूला योजना पारेको उनको दाबी छ।

पाण्डेले प्रदेशको ६६ वटै निर्वाचन क्षेत्रमा आवश्यकताअनुसार बजेट विनियोजन गर्नुपर्ने भए पनि सरकारले आवश्यकताभन्दा पनि गुटलाई महत्व दिएर बजेट विनियोजन गरेको बताए।

उनले सरकारले अहिलेको अवस्थामा सुरुङमार्ग निर्माण कार्यलाई पनि बजेटबाट हटाउन माधव पक्षले माग गरेको बताए। ‘हाम्रो सरकारले सुरुङमार्गजस्तो ठूलो योजना बनाउन भ्याउँदैन। अब आउने सरकारले नबनाउन पनि सक्छ। त्यसैले यसमा पैसा लगानी गरेर डुबाउनु हुँदैन,’ उनले भने।

पाण्डेले सरकारलाई विद्युतीय बस खरिद कार्य पनि हतारमा नगर्न सुझाव दिएको बताए। नेपालको सडक विद्युतीय गाडी गुड्ने स्तरको भएकोले तत्काल विद्युतीय बसमा पैसा नहाल्न आफूहरूले सुझाव दिएको उनको भनाई छ। पाण्डेले सरकारले चार्जिङ स्टेसनका लागि आवश्यक व्यवस्थापन नगरी विद्युतीय बस खरिद गर्न खोज्नुले राम्रो नियत नदेखिएको भन्दै आशंका व्यक्त गरे।

सरकारलाई विद्युतीय बस गुडाउनभन्दा खरिद गरेर केही हात पारिहालौं भन्ने नियत देखिएको पाण्डले आरोप लगाए। त्यस्तै खोप खरिद कार्यमा सरकारलाई नेपाल–खनाल पक्षको समर्थन रहेको भन्दै कसरी खोप खरिद गर्ने भन्ने योजना पनि सरकारले बनाउनुपर्ने बताए। केन्द्र सरकारले समेत भनेको बेलामा खोप ल्याउन नसकिरहेको अवस्थामा प्रदेश सरकारले कसरी ल्याउँछ भन्ने स्पष्ट योजना आउनुपर्ने उनको भनाइ छ।

सरकारमा दम्भ देखिएको भन्दै नेपाल–खनाल पक्षको माग सम्बोधन गरेर नगए संसदमा सरकारको पक्षमा नउभिने  पाण्डेले बताए। ‘नीति तथा कार्यक्रम पास गर्नुअघि कार्यदल गठन गरेको थियो, त्यही भएर पास भयो तर कार्यदलको काम भएन। कार्यदलले दिएको सुझाव सरकारले मानेन। अब सरकारप्रति हामीलाई विश्वास नै छैन। हामीले भनेको कुरा नभए हाम्रो पक्षको २१ जना एकापट्टि उभिदिन्छौं बजेट कसरी पास हुनसक्छ?’ उनले प्रश्न गरे। सरकारले आफूहरूसँग छलफल नै नगरी शनिबारका लागि संसद आह्वान गरेको पाण्डेले भन्दै असन्तुष्टि पनि जनाए। 

एमाले मिलेर बजेट पास गर्छ : मुख्य सचेतक

नेकपा एमालेको बागमती प्रदेशको मुख्य सचेतक दीपक निरौलाले नीति तथा कार्यक्रम जस्तै एमाले एक भएर बजेट पास हुने दाबी गरेका छन्। पार्टिभित्रको असन्तुष्टि संसदमा गएर नपोखिने भन्दै प्रदेश सरकारले बहुमतले बजेट पास गर्ने उनले दाबी गरे।

निरौलाले भने, ‘पार्टीभित्र केही असन्तुष्टि र मतभेद छन्। तर त्यो दलभित्र मात्रै रहन्छ। त्यसले संसदलाई कुनै पनि असर पार्दैन। नीति तथा कार्यक्रमजस्तै हामी बहुमतले बजेट पास गरेर देखाउँछौ।’ 

निरौलाले संसद र पार्टी फरक विषय भएको भन्दै संसदको आचरणलाई पालना गर्दै एमाले संसदमा एक हुने बताए। असारभित्रै बजेट पास हुनेसमेत दाबी उनले गरेका छन्।

पार्टीभित्र देखिएको असन्तुष्टि र मतभेदलाई मिलाएर लैजान निरन्तर छलफल भइरहेको निरौलाको भनाई छ। संसद चलाउन लचक नबनेसम्म प्रतिपक्षी दलसँग पनि कुनै छलफल नगरिने उनले बताए।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.