आजको कार्यदल बैठकमा सहमति भइछाड्ने नेताहरूको दाबी

|

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदल यतिबेला पार्टी एकता जोगाउने अन्तिम कसरतमा जुटिरहेको छ। शुक्रबार करिब ७ घण्टा बसेको कार्यदलले एमाले एकता जोगाउनबारे मस्यौदासमेत तयार गरिसकेको छ। 

कार्यदलले तयार गरेको मस्यौदाको विषयमा आजको बैठकले मूर्तरूप दिने तयारी भइरहेको प्रवक्ता तथा कार्यदल सदस्य प्रदीप ज्ञवालीले बताए।  प्रवक्ता ज्ञवाली भन्छन्, ‘हिजो हामीले करिब सहमतिको विषयलाई पूरा गरेका छौँ। आज बस्ने बैठकले मूर्तरूप दिन्छ भन्नेमा हामी विश्वस्त छौँ।’

रोकिएको केही विषयलाई टुंगाउनका लागि अनौपचारिक रूपमा विभिन्न कोणबाट छलफल भइरहेको उनको भनाइ छ। 

पार्टीलाई ०७५ जेठ २ मा फर्काएर सोहीअनुसारको संरचनालाई क्रियाशील बनाउने विषयमा कार्यदल सहमत भएको छ। माओवादीबाट आएका नेताहरूबारे पार्टीको बैठक बसेर आवश्यकताअनुसार जिम्मेवारी दिने र पार्टीलाई संस्थागत रूपमा सञ्चालन गर्नेसम्मको सहमति बनेको छ। 

यीबाहेक कार्यदललाई अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको जिम्मेवारी बाँडफाँट र कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षका नेता नेपाल समूहले गरेको हस्ताक्षरको विषयलाई टुंग्‍याउन सकस परेको छ। 

नेपाल पक्षले अदालतमा विचाराधीन मुद्‍दाका विषयमा पार्टी एकतालाई जोड्न नहुने अडान राखिरहेको छ। 

नेपालनिकट स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नका लागि एक व्यक्ति एक पद कार्यान्वयन गर्न अपरिहार्य हो। तर, उहाँ कुनै पद छाड्नै तयार हुनुहुन्न।’

ओलीले पार्टी एकताको लागि हस्ताक्षर फिर्ता गर्नुपर्ने माग राख्नु नै गलत भएको नेतृ शाक्यको दाबी छ। 

‘पार्टी एकताभित्रको विवाद समाधान गर्नू र हस्ताक्षरको कुरा कतै जोडिएको छैन। त्यो अडान उहाँहरुले राख्नु भनेकै एकताको प्रयास बिथोल्नु मात्रै हो’ उनले भनिन्। अदालतमा पुगेको विषयलाई पार्टीमा जोड्न नहुने उनको मत छ। 

कार्यदलका नेताहरूले संसद् विघटनको मुद्दाबारे सर्वोच्च अदालतबाट आएको फैसलालाई नै पार्टीगत निर्णय गरेर अघि बढ्नुपर्नेमा जोड दिइरहेका छन्। तर, त्यो विषयमा अध्यक्ष ओली सन्तुष्ट छैनन्। 

प्याकेजबिना सहमति गरेर अघि बढे ओलीले भोलिबाटै एकलौटी निर्णय गरेर आफूहरूलाई पेल्न थाल्ने नेपाल पक्षको शंका छ। 

‘हामी पार्टी एकताको विपक्षमा होइनौँ। पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नका लागि उहाँहरू (ओली र नेपाल) बीचको निर्णय गर्ने ठाउँमा बराबरी अधिकार हुनुपर्छ। त्यसो भएको अवस्थामा मात्रै पार्टी एकताबद्ध भएर जान सकिन्छ’ नेपालनिकट एक नेता भन्छन्। 

'एक व्यक्ति, एक पद' कार्यान्वयनका लागि माधव समूहले शक्ति बाँडफाँटमा बलियो अडान राख्दै गर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पक्ष छाड्न तयार छैनन् ओली। 

पार्टीमा दुवै नेताको हस्ताक्षर बिनाको सहमति गरेर पछुताउनुको विकल्प नभएको नेपालनिकट नेताहरू बताउँछन्।  बुधबार ओली र नेपालबीच मेरियट होटलमा भएको वार्तामा समेत नेपालले पार्टीमा दुवैको हैसियत बराबरी हुनुपर्ने प्रस्ताव राखे। तर, नेपालको प्रस्तावमा ओली सहमत भएका थिएनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.