|

जनकपुरधाम : प्रदेश २ को आज बसेको बैठक विपक्षी दलले अवरुद्ध गरेको छ। आर्थिक वर्ष ०७८/०७९ को बजेट मन्त्रीमुखी भएको भन्दै उनीहरूले आज बसेको छैठौं अधिवेशनको १३ औं बैठक अवरुद्ध गरेका हुन्।

विपक्षी दलका सांसदहरूले  सरकारले रेडबुकमा मन्त्रीमुखी योजना मात्रै समावेश गरेको आरोप लगाउँदै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन्।

रेडबुक संशोधन गरी समानुपातिक ढंगले बजेट विनियोजन नभएसम्म प्रदेशसभा चल्न नदिने एमाले र माओवादी केन्द्रका सांसदले अडान राखेपछि प्रदेशसभा बैठक अवरुद्ध भएको हो।

आइतबार प्रदेशसभा बैठक सुरु हुनासाथ एमाले र माओवादी केन्द्रका सांसदहरूले उभिएर बैठक अवरुद्ध गरे।

नेकपा एमालेका प्रदेश सांसद सुन्दरबहादुर विश्वकर्माले बजेट सन्तुलित नभएको आरोप लगाए। उनले भने, 'बजेट प्रदेशको नभएर एउटा नगरपालिका र एक निर्वाचन क्षेत्रमा सीमित छ।'

माओवादी केन्द्रका प्रदेश सांसद दिलीप साहले प्रदेश सरकारको बजेट विकासका लागि नभएर स्वार्थ पूरा गर्न ल्याएको आरोप लगाए। उनले प्रदेश सरकारको रेडबुक मन्त्रीले आफ्ना योजनाले मात्रै भरेको बताए।

उनले प्रश्न गर्दै भने,‘ अर्थमन्त्रीले आफ्नै क्षेत्रमा बजेट केन्द्रित गर्ने ? यति ठुलो षडयन्त्र गर्ने ? मन्त्रीले आफ्नो क्षेत्रमा मनपरी बजेट राख्न पाउँछ र ? कसले अधिकार दियो ? सरकार भन्दैमा जे पनि गर्न पाईने ? छुट छ त्यस्तो ? यो सदनले मलाई लाग्छ त्यस्तो छुट कसैलाई दिएको छैन्।’

प्रदेशसभा सदस्य साहले बजेटलाई समानुपातिक तथा सन्तुलित ढंगले विनियोजन गर्न माग गरे। उनले प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा समानुपातिक ढंगले योजना पठाउनसमेत प्रदेश सरकारसँग माग गरेका हुन्।

विपक्षी दलका सांसद उभिएर प्रदेशसभा बैठक चल्न नदिने अडान लिएपछि सभामुख सरोजकुमार यादवले बैठक एक घण्टाका लागि स्थगित गरेका छन्।

आजको प्रदेशसभा बैठकमा मन्त्रालयलगायत बजेटमा छलफल गर्ने कार्यसूची रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.