|

लमजुङ : बेसीशहर नगरपालिका–१ उदिपुरमा रहेको गाईखुरे झरनामा जान जिल्ला प्रशसान कार्यलयले रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण जोखिमका समयमा पनि आन्तरिक पर्यटकको घुइँचो लागेको भन्दै प्रशासनले सर्वसाधरणलाई झरनामा जान रोक लगाएको हो। 

आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेकाले थप संक्रमण हुन नदिन उच्च सतर्कता अपनाउँदै झरनामा भीडभाड हुन नदिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए। प्रशासन कार्यलयले झरनामा जान रोक लगाउनुको साथै विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालन गर्न नदिएको जनाएको छ।

एक महिनाअघिसम्म पानी नहुँदा सुनसान झरनाहरुमा पानीको बहाव बढेको र लकडाउन खुकुलो भएसँगै आन्तरिक पर्यटकहरुको भीडभाड बढेको हो। आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्ने गाईखुरेसहित लमजुङका दर्जनौं झरनामा आन्तरिक पर्यटकहरुको घुइँचो हुने गरेको छ।

बर्खा याममा मात्रै पानी झर्ने गाइखुरे झरनामा अघिल्ला वर्षहरुमा झरना महोत्सव र क्यानोइङ समेत हुने गरेको थियो। तर, गत वर्ष र यस वर्ष कोरोनाकै कारण झरनामा महोत्सव र क्यानोइङ नभए पनि पछिल्ला दिनहरुमा भने सर्वसाधरणहरुको घुइँचो लाग्ने गरेको थियो। बेसीशहर, सुन्दरबजार, भोटेओडारलगायतका क्षेत्रबाट दिनहुँ सर्वसाधरणहरु झरना आउने जाने संक्रमण जोखिम भएको भन्दै प्रशासनले झरनामा जान पनि रोकेको हो।

वर्षा सुरु भएसँगै बेसीशहरको गाईखुरे झरना, मर्स्याङदी गाउँपालिकामा रहेको भुलुभुले, स्याँगे, जगत, च्याम्चेलगायतका ठूला झरनाहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्ने गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.