|

बर्दिया : बर्दिया पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ।

आज एक कार्यक्रमको अवसरमा बर्दियालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषित गरिएको हो। योसँगै पूर्ण खोप घोषणा हुने जिल्लामा बर्दिया नेपालमा ६१ औँ र लुम्बिनी प्रदेशमा ११ औँ जिल्लाभित्र परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं प्रदेश पूर्ण खोप समन्वय समितिका अध्यक्ष डा. विकास देवकोटाले बताए।

बर्दियाका ८ वटै स्थानीय तहका १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले पूर्ण खोपजिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बर्दियामा प्रमुख गोकर्ण गिरीले बताए।

प्रत्येक स्थानीय तहमा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई समेत खोपको पहुँचमा पुर्‍याई उनीहरूले सबै खालका खोप पाएपछि सो घोषणा गरिएको हो।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष शंकर थारूले खोप कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न अनुगमन र सर्वेक्षणलाई थप सशक्त पारिने उल्लेख गरे। यसअघि जिल्लाका ८ स्थानीय तहले छुट्टाछुट्टै रुपमा पूर्ण खोपयुक्त घोषणा गरेका थिए।

बालबालिका देशका मेरुदण्ड भएकाले पनि खोपको प्राथमिकतामा राखी राज्यले यो “खोज र खोप” अभियानको सुरुवात गरेको जनाइएको छ। यसको सुनिश्चिततालाई स्थायित्व दिन सबैले आआफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नुपर्ने पनि जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए।

स्वास्थ्य सचिव डा. विकास देवकोटाले बालबालिका देशका मेरुदण्ड भएकाले पनि खोपको प्राथमिकतामा राखी राज्यले यो “खोज र खोप” अभियानको शुरुवात गरेको र यसको सुनिश्चिततालाई स्थायित्व दिनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नुपर्ने बताए।

खोपकै कारणले नेपालीहरूको औसत आयु ४० वर्षबाट बढेर हाल ७० वर्ष पुगेको पनि जनाइएको छ। बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले यो बर्दिया जिल्लाका लागि एउटा सकारात्मक सूचक भएको बताए। अबका दिनमा गुणस्तरीय जीवनका लागि ध्यान दिँदै कार्य गर्नुपर्नेमा उनले जोड दिए। उनले महामारीका बेलामा सरकारले जनताको स्वास्थ्यमा खेलबाड गर्न नहुने पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.