|

काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समितिका ५१ सदस्यहरूलाई साउन ११ गते आयोगमा उपस्थित हुन आदेश दिएको छ।

जसपा विवाद समाधान गर्न गठित इजलासको बिहीबार बसेको बैठकले पार्टी एकीकरण हुँदा सनाखत गरेका सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन आदेश दिएको हो।

आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले दल एकीकरण हुँदा सनाखत गरेका पदाधिकारीलाई सक्कल नागरिकता वा मतदाता परिचयपत्र सहित उपस्थित हुन आदेश दिएको जानकारी दिए।

पार्टी एकता हुँदा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना आयोगमा गएर सनाखत गरेका थिए। कार्यकारिणी समितिमा जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले बहुमत रहेको दाबी गरेको छ।

यादव पक्षले कार्यकारिणी समितिमा आफ्ना पक्षका ३१ जना सदस्य रहेको दाबी गरिरहेको छ। इजलासको आजको बैठकमा दुवै पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। पार्टीको आधिकारिकता दाबी सम्बन्धमा दुवै पक्षका कानुन व्यवसायीको बहस सुनिसकेपछि आयोगले यस्तो आदेश गरेको हो।

तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि बनेको जसपा नेपालमा ५१ सदस्यीय कार्यकारिणी समिति बनाइएको थियो। तर महन्थ ठाकुरले गत पुस ७ गतेको बैठकले आफूलाई अधिकार दिएको भन्दै कार्यकारिणी समितिमा हेरफेर गरेका थिए।

आयोगले ठाकुरद्वारा हेरफेर गरिएको कार्यकारिणी समितिलाई भने मान्यता दिएन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.