६८ करोड बढी राजश्व बक्यौता

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि कर नबुझाउने स्टार मलसहित २० ठूला करदाताकाे सूची सार्वजनिक गरेकोमध्ये चार करदाताले मात्रै राजश्व बुझाएका छन्।

महानगरपालिकाले साउन १३ गते तीन दिनभित्रमा कर बुझाउन ताकेता गरेपछि उनीहरुले राजश्व बुझाएका हुन्। महानगरको राजस्व विभागका अनुसार एन आर टी क्लव,नेश्नल अस्पताल,शहिद मेमोरियल हस्पिटल र युनाइटेड वर्ल्ड ट्रेड सेन्टरले मात्रै राजश्व बुझाएका छन्।

क्लबले १० लाख, नेश्नल अस्पतालले २४ लाख, मेमोरियल हस्पिटलले १९ लाख २० हजार र ट्रेड सेन्टरले एक करोड गरी कुल एक करोड ५३ लाख २० हजार राजश्व बुझाएकाे महानगरले जनाएकाे छ। 

विभागले बुधबार सार्वजनिक गरेको सूचना अनुसार अझै कान्तिपुर डेन्टल हस्पिटल, चिरायु हस्पिटल,देवेन्द्रलाल श्रेष्ठ, बागमती च्याम्बर, बुद्धबारी कम्पलेक्स, काठमाडौं इन्जिनियरिङ कलेज, आदर कम्प्लेक्स,नेपाल रेडक्रस सोसाइटीले कर बुझाएका छैनन्।

त्यस्तै, कृषि सामग्री संस्थान, एलआरआई बोर्डिङ स्कुल, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, शुभश्री को-अपरेटिभ लिमिटेड, काठमाडौं प्लाजा, नेपाल शेयर मार्केट,गोपालजी पोपर्टिज प्रालि र स्टार मलले कर बुझाएका छैनन्।

समय सकियो, भएन कारबाही

महानगरपालिकाले सूचना जारी गरि यी करदातालाई तीन दिनभित्रमा रकम बुझाउन ताकेता गरेको थियो। यसका लागि महानगरपालिकाले करदाताको घर दैलोमा बुधबारबाटै तीन दिन माइकिङ पनि गर्‍याे।

ताेकिएकाे समयभित्र पनि कर नबुझाए करदाताको पसल, घर, व्यवसाय सबै सिलबन्दी गर्ने राजस्व विभागका प्रमुख डा.शिवराज अधिकारीले चेतावनी दिएका थिए। तर म्याद सकिएको पाँच दिन भइसक्दा पनि कुनै कारबाही हुन सकेको छैन। विभागका प्रमुख डा. अधिकारीले अधिकांश करदाता सम्पर्कमा आएकाले कारबाही प्रकृया अगाडी नबढाएको तर्क गरे। 

दुई करदाता सम्पर्कमा छैनन्

अधिकारीका अनुसार नेपाल शेयर मार्केट र आरबी कम्प्लेक्स अझैं विभागको सम्पर्कमा आएका छैनन्। उनले भने,‘यी बाहेक अरु सबै करदाता सम्पर्कमा आएका छन, उनीहरुले समयमा राजश्व बुझाउँछौं भनेका छन।’ 

स्टार मलले अबको सात दिनभित्रमा ५० लाख कर बुझाउने विभागमा प्रतिबद्धता जनाएको छ। त्यस्तै काठमाडौं इन्जिनियरिङ कलेजले १० दिनभित्रमा सबै विवरण पेश गर्ने, डेन्टल अस्पताल लगायत करदाताले एक सातमा विवरण बुझाउने प्रतिबद्धता जनाएका छन्।

६८ करोड बढी राजश्व बक्यौता

विभागका प्रमुख डा. अधिकारीका अनुसार अझैं करिब ६८ करोड भन्दा बढी राजश्व उठ्न बाँकी छ। उनले भने,‘यी करदाता नै महानगरपालिकाभित्रको ठूला करदाता हुन, धेरैले पाँच वर्षदेखि नै कर बुझाएका छैनन, कोभिड महामारीको बेला मारमा पर्छन भनेर हामीले दबाब दिएका थिएनौँ।’ अब पनि करदाता सम्पर्कमा आएर कर नबुझाए जसरी भए पनि कानुनी कारबाही गर्ने अधिकारीले बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.