प्रत्यक्षदर्शीलाई पनि गाउँ पठाइयो, एसएसबीसँग गरिएन सोधपुछ

|

धनगढी : महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुलामा रहेको गृह मन्त्रालयको टोली शुक्रबार नेपालतर्फको घटनास्थल पुगेको छ। बिहीबार भारततर्फको घटनास्थल निरीक्षण गरेर फर्किएको टोली आज व्याँस गाउँपालिका-२ मालगाउँ गएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले नेपालतर्फबाट स्थलगत निरीक्षण र पीडित परिवार भेट्ने योजनासहित छानबिन टोली मागाउँ गएको बताए। 

बिहीबार गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली दार्चुलाबाट धारचुला भारत हुँदै गस्कु–मालघाट पुगेको थियो। एसएसबीसहित घटनास्थल पुगेको समितिले तुइन बाँधिएको रूखको नापजाँच लिएको थियो।

यसअघि जिल्लाबाट खटिएको अनुसन्धान टोलीले दिएको विवरणअनुसार घटनास्थलको निरीक्षण गरिएको अनुगमन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले बताइन्। 

महाकाली तर्न नेपालतिर काठको खम्बा गाडिएको छ भने भारततर्फ टुडीको रूख छ। तर दुवैतर्फ तार छैन। रूखबाट तार झिकेको हो कि काटेको हो भन्ने देखिने गरी प्रमाण केही नदेखिएको अधिकारीहरू बताउँछन्। महाकाली नदी वारिपारि झण्डै ४५ मिटर छ। 

छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रजिअ भट्ट सदस्य छन्। 

भारतीय एसएसबीसँग अझै गरिएन सोधपुछ

दार्चुला घटनामा आरोपी मानिएका भारतीय एसएसबीसँग भने अझै सोधपुछ गरिएको छैन। बुधबार भारतीय एसएसबीकै सहभागितामा घटनास्थलको भारतपट्टि पुगेर फर्किएको टोलीले अहिलेसम्म पनि सोधपुछ नगरेको हो।

गत १५ साउनमा सदरमुकाम खलंगा आउन तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि व्याँस गाउँपालिका-२ मालगाउँका जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए।

घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठन गरेको टोली मंगलबार साँझ दार्चुला पुगेको थियो। बिहीबार बिहान टोली सीमावर्ती भारतीय बजार धार्चुला हुँदै घटनास्थल गस्कु–मालघाट पुगेको हो। 

तर, धार्चुला पुगेको उक्त टोलीले घटनाबारे कुनै तथ्य, प्रमाण फेला परेको या नपरेको भने सार्वजनिक गरेको छैन। यस्तै जयसिंहका आफन्तले भारतीय प्रहरी थानामा दिएको उजुरीबारे टोलीले एसएसबीसँग सोधपुछ समेत नगरेको बताइएको छ।

धामी बेपत्ता भएपछि उक्त घटनाको मुचुल्का लिएर अनुसन्धान गर्न पागला प्रहरीलाई स्थानीय बहादुरसिह धामी र जोगासिंह धामीले उजुरीपत्र (एफआइआर) दिएका थिए।

तुइनको डोरी काटेपछि एसएसबीका जवानहरू भागेको र धामी बेपत्ता भएको उक्त उजुरीमा उल्लेख गरिएको थियो। यता दार्चुला जिल्ला प्रशासनले भने त्यसबारे छलफल भइरहेको र थप अनुसन्धान जारी रहेको बताएको छ।

प्रत्यक्षदर्शीलाई पनि गाउँ पठाइयो

स्थानीय प्रशासनले बयानका लागि सदरमुकाम ल्याइएका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रंकोली र अनिता धामीलाई बिहीबार गाउँ फिर्ता पठाएको छ । प्रहरी सुरक्षामा उनीहरूलाई गाउँ पठाइएको हो।

गत १८ साउनमा सोधपुछका लागि भन्दै उनीहरूलाई दुई जना प्रहरीको निगरानीमा सदरमुकाम ल्याइएको थियो। गृह मन्त्रालयको छानबिन टोलीले बुधबार उनीहरूसँग बयान लिएको थियो।

तीनै जनालाई बिहीबार बिहान ५ बजे खलंगाबाट गाउँ हिँडाइएको थियो। दस्तखत गर्न छुटेको भन्दै प्रहरीले उनीहरूलाई तिमुरपाटामा रोकाएर दस्तखत गराएको थियो। खलंगामा रहँदा उनीहरूलाई पत्रकार र मानव अधिकारकर्मीसँग भेट्न रोक लगाइएको थियो।

प्रहरीले उनीहरूलाई गाउँ लैजाँदा एक–दुई अन्य स्थानीय पनि सँगै थिए, तर उनीहरूसँग सम्पर्क गर्न दिइएन। प्रत्यक्षदर्शी र स्थानीयलाई छुट्टाछुट्टै हिँड्न लगाइएको सँगै गएका एक स्थानीयले बताए।

पत्रकारलाई निषेध 

छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको टोलीको फोटो खिच्न पत्रकारलाई निषेध गरेको छ। नेपालतर्फको घटनास्थलको निरीक्षण र पीडित परिवारलाई भेट्न हेलिकोप्टरमार्फत छानबिन टोली मालगाउँ प्रस्थान गरिरहेको समयमा फोटो खिच्न रोक लगाइएको हो।

दार्चुलाका पत्रकार नरेन्द्र कार्कीले भने, ‘साउन २१ गते भारतीय एसएसबीले फोटो खिच्नबाट वञ्चित गरायो। आज फेरि नेपाली सेनाले छानबिन समितिको फोटो खिच्न रोक लगायो। यो घटनाको सुरुवातदेखि नै मिडियामाथि अंकुश लगाउने काम भइरहेको छ।’ लुकिछिपी फोटो खिच्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

बिहीबार भारतीय सीमा सुरक्षा बल एसएसबीले घटनास्थलमा क्यामेरा लैजान रोक लगाएको थियो। सुरुमा घटनास्थल जानै नदिएको एसएसबीले पछि नेपाल–भारत जोड्ने पुलबाटै पत्रकारलाई क्यामेरा लैजान रोक लगाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.