|

सर्लाही : सर्लाहीमा यस वर्ष पनि रासायनिक मलको अभावले किसान चिन्तित भएका छन्। धान रोप्ने समयमा प्रशस्त पानी पर्दा खुशी भएका किसान अहिले समयमै रासायनिक मल नपाउँदा उत्पादन घट्ने चिन्ताले किसान चिन्तित बनेका हुन्।

धान रोपाइँको समयमा डिएपी मल नपाएका यहाँका किसानले गोडमेल गरिसक्दा पनि युरिया मल हाल्न नपाएको गुनासो गरेका छन्। बागमती–१० का लालबहादुर लामाले आफ्नो १ बिगाहमा २ बोरा मलको आवश्यक्ता रहेकोमा मल बिक्रीको जिम्मा पाएको साना किसान कृषि सहकारी हंकरपुरबाट २० किलो मात्र युरिया मल पाएको बताए।

उनले बाँकी ८० किलो युरिया मल छिमेकी मुलुक भारतबाट लुकाइछिपाई ल्याएको गुणस्तरहिन मल बोराको एक हजार चा सयको दरले किनेर लगाउन बाध्य भएको बताए।

प्रत्येक वर्ष जसो देखिने मल अभावको दीर्घकालिन समाधानतर्फ सरकारले बेलैमा नसोचे कृषिकर्मबाट जिविकोपार्जन गर्न नसक्ने अवस्था आउने बागमती नगरपालिका–९ का किसान कुलबहादुर बस्नेतले चिन्ता ब्यक्त गरे।

जिल्लामा युरिया मल अभाव भएपछि किसानले भारतबाट लुकाइछिपाई ल्याइएको गुणस्तरहिन मल प्रयोग गर्नुपरेको छ। सरकारले किसानलाई मल पनि पुर्‍याउन नसक्ने अनि भारतबाट मल ल्याउँदा प्रहरीले दुख दिने गरेको किसानको गुनासो छ।

गत आर्थिक वर्षमा केन्द्रबाट आएको मलखाद बिक्री भइसकेको र यस वर्षको लागि आइनसकेकोले मलको भएको कृषि सामग्री कम्पनी लिमिटेड नवलपुरका प्रमुख दिपक थापाले बताए।

आवश्यक्ता भन्दा कम मल आउनाले प्रत्येक वर्ष जिल्लाका किसानले मलको अभाव खेप्दै आएको उनले सुनाएर यसवर्ष किसानलाई सहज होस भनेर मलको कोटा दोब्बर बनाउन मन्त्रालयलाई आग्रह गरेको पनि उनले बताए।

मल वितरणको जिम्मा पाएका जिल्लामा रहेका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्गले स्थानीय तहले मल बिक्रीका लागि तोकेको बिक्रेतालाई एक पटकमा युरिया २५ बोरा, डिएपी ३० बोरा उपलब्ध गराउँदै आएको साल्ट ट्रेडिङ्ग सर्लाहीका प्रमुख संजीव झाले बताए।

उनले सर्लाहीका लागि आएको मलको कोटाले २० प्रतिशत किसानलाई पनि नपुग्ने जानकारी दिए। सर्लाहीमा वर्षे धान खेती झण्डै ४६ हजार हेक्टर जग्गामा रोपाइँ हुने गरेको छ।

प्रति हेक्टर ९० किलोको दरले रोपाइँको समयमा डिएपी हाल्नु पर्ने कृषि ज्ञान केन्द्र, सर्लाहीका प्रमुख कमलदेव महतोले बताए। गोडमेल गरेर धान रोपेको २०-२५ दिनमा प्रति हेक्टर ६० किलो युरिया र पसाउने बेलामा पुनः ६० किलो युरिया मल हाल्नु पर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.