पौडेल समूहका जिल्ला सभापतिको भेला लगत्तै केन्द्रीय समिति बैठक

|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाइतर समूहको जिल्ला सभापतिहरूको भेला जारी छ।

भदौमा हुने महाधिवेशन सर्ने सम्भावना देखिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले संस्थापन इतर समूहका जिल्ला सभापतिहरूको भेला गरेको हो।

काठमाडौंको ठमेलमा जारी जिल्ला भेलामा आगामी भदौमा गर्नेगरी तोकिएको १४ औं महाधिवेशनबारे छलफल केन्द्रित छ। 

पार्टी वैधतामाथि नै प्रश्न उठ्ने भएकाले तोकिएकै समयमा महाधिवेशन गर्न दबाब दिन भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला तथा प्रकाशमान सिंह निकट जिल्ला सभापतिहरू काठमाडौंमा भेला भएका छन्। 

महाधिवेशन मिति सर्ने देखिएपछि नेतृत्वलाई कसरी दबाब दिन सकिएला भनेर आन्तरिक छलफलमा जुट्न लागेको काठमाडौं जिल्ला सभापति सबुज बानियाँले बताए। 

संस्थापन इतर पक्षकाे भेलामा ४७ जना सहभागी रहेको दाबी छ। 

त्यसलगत्तै नेता पौडेलले क्रियाशील सदस्यता विवाद र महाधिवेशनको विषयमा छलफल गर्न आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक डाकेका छन्। सोमबार अपरान्ह महामन्त्री शशांक कोइराला निवासमा पौडेलले बैठक बोलाएका हुन्। 

त्यसो त नेता पौडेलले पार्टीको महाधिवेशनको मिति पटकपटक धकेल्न खोजिएको भन्दै आक्रोश व्यक्त गर्दै आइरहेका छन्। 

पार्टी विधानले चार वर्षको कार्यकाल तोकेकोमा देशको संविधानलाई समातेर म्याद थप गरिएको र थपिएको समयमा पनि महाधिवेशन गर्न नखोजिएको भन्दै आक्रोश व्यक्त गरिरहे।

उनले फेसबुकमा लेखेका छन्‌, ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ। असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधानलाई समातेर ६ महिना बढाइयो। आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पुर्‍याएको छ। वर्तमान नेतृत्वको यहाँभन्दा चरम असफलता र लापरवाही अरू के हुन्छ?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.