|
तस्वीर स्रोत : इन्टरनेट ।

काठमाडौं : कोरोनाका कारण सुनसरीमा रहेको तयारी पोशाक उद्योगलाई निर्यातमा समस्या देखिएको छ। 

तेस्रो मुलुकबाट पर्याप्त मात्रामा अर्डर नआउने र आएपनि कोरोनाका कारण असहज परिस्थितीले निर्यातमा समस्या देखिएको उद्योगले जनाएको छ।

पूर्वकै ठूलो तयारी कपडा निर्यात कम्पनी मानिने पल्स फेसन सोलुसन प्रालि खनारले पहिलो चरणको लकडाउन शुरू भएयता कम्पनीको उत्पादन क्रमशः घट्दो क्रममा रहेको जनाएको छ।

उद्योगका एक्सपोर्ट डिभिजन म्यानेजिङ डाइरेक्टर निमेश प्रधानका अनुसार कोरोनाका कारण उद्योगले कच्चा पदार्थ आयातमा समेत कठिनाइ सामना गरिरहनु परेको छ। तेस्रो मुलुकबाट अर्डर निकै कम मात्रामा आउने गरेकाले समेत उद्योग संचालनमा चुनौती बढेको प्रधानको भनाइ छ।

तयारी पोशाक उद्योगसँगै सुनसरीको खनारमै रहेको बिस्कुट उद्योगले समेत कोरोनाका कारण राम्रो बजार पाउन नसकेको जनाएको छ। बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्दै आएको एशिएन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिले  विद्यालय तथा कलेजहरू बन्द रहँदा उत्पादन कटौतीको सामना गर्नु परिरहेको जनाएको छ।

कोरोनाका कारण माग कम हुँदा उद्योग पूर्ववत् अवस्थामा संचालनमा आउनै नसकेको कम्पनीले जानकारी दिएको हो। 

सुनसरीमा रहेका अधिकांश उद्योगले कोरोनाका कारण उत्पादन कटौतीको समस्या झेलेका छन्। पटक–पटकको लक डाउन झेलेका त्यस्ता उद्योग पछिल्लो समय तेस्रो लहरको जोखिम बढेकाले समेत उत्पादन बढाएर जोखिम मोल्ने अवस्थामा छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.