कडा खाद्य नियमावली, तर हुँदैन कसैलाई कारबाही

|

काठमाडौं : आयातीत तरकारी विषादी परीक्षणबिनै बिक्री वितरण भइरहेको छ। सरकारले निषेधाज्ञा अघिसम्म परीक्षण गरेको भए पनि पछिल्लो समय परीक्षण नै नगरी बिक्री वितरण भइरहेको हो।

सरकारले परीक्षण नगर्दा बाहिरबाट ल्याइएको तरकारीले नेपालीको स्वास्थ्यमा खेलबाड भइरहेको गुनासो उपभोक्ताको छ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष सुवर्णप्रभा गुरागाईंका अनुसार कोरोना संक्रमण देखिनु अघिसम्म विदेशी तरकारी परीक्षण गरेरमात्र भित्र्याउने र बिक्री वितरण भइरहेको थियो। अहिले भने यस्तो तरकारीमा विषादी भए नभएको कुनै जाँच हुने गरेको छैन। 

‘पहिला विदेशबाट आयात भएका तरकारीमा विषादी परीक्षण गर्ने गरिएको थियो,' उनले भनिन्, 'तर अहिले अनुगमन गर्दा परीक्षण नै नगरी भित्र्याएर बिक्री वितरण गरेको पाएका छौं। सरकारले स्वास्थ्यमाथि खेलबाड गरेको छ।’

उनका अनुसार भारतलगायत बाहिरबाट तरकारी ल्याउँदा २९ प्रकारका विषादी परीक्षण गर्नुपर्छ। तर सरकारले कोरोनाको कारण देखाएर अहिले दुई विषादीको मात्र परीक्षण गरिरहेको उनले बताइन्।

‘सरकारले कोरोना नियन्त्रणतिर बढी ध्यान दियो। ०७७ कार्तिकदेखि नै प्रभावकारी परीक्षण भएन,पटक–पटक आवाज उठाए पनि सरकार सुन्दैन,’गुरागाईले भनिन्। 

कमिसनको खेलले सडेगलेका तरकारी पनि ल्याएर व्यापारीलाई बेच्न सरकारले छुट दिएको उनको आरोप छ। ‘भारतबाट ल्याएका अधिकांश फलफूल पनि किरा परेको हुन्छ,खानै नमिल्ने,’उनले भनिन्, ‘यसलाई कसरी गुणस्तरीय मान्ने?’ 

के छ खाद्य नियमावलीमा ?

खाद्य तथा दाना पदार्थ सम्बन्धी ऐन नियम,निर्देशिका,कार्यविधि एवं गुणस्तर मापदण्ड २०७५ मा कुनै पनि व्यक्तिले दूषित खाद्य पदार्थ वा न्यूनस्तरको खाद्य पदार्थको उत्पादन,बिक्री वितरण,निकासी वा पैठारी गर्न वा तीमध्ये कुनै कामका लागि त्यस्तो खाद्य पदार्थ राख्न नहुने व्यवस्था छ। 

यस्तो विपरित बिक्री वितरण गरेको पाइएमा तोकिएको अधिकारीले त्यस्तो खाद्य पदार्थ सिलबन्दी गरी सो खाद्य पदार्थका धनीलाई नै जिम्मा लगाई त्यसको भर्पाइ लिई रोक्का राख्न सकिने व्यवस्था छ।

त्यस्तै ऐनविपरीत गर्ने व्यक्तिलाई पाँच वर्ष सम्म कैद ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। तर खुलेआम त्यस्ता तरकारी बजारमा बिक्री गरिए पनि कारबाही भएको पाइँदैन।

यसो भन्छ भन्सार विभाग

यता,भन्सार विभागको भने बाहिर देशबाट तरकारी ल्याउँदा परीक्षण गरेर मात्र ल्याउने गरेको दाबी छ। विभागका  सूचना अधिकारी शिशिर घिमिरे भन्छन्, ‘हामी नाकाबाट विषादी परीक्षण गरेको रिपोर्टअनुसार नै तरकारी छिराउँछौँ, बिर्तामोड,विराटनगर,सलार्हीमा क्वारेन्टाइन छन, त्यही जाँचिन्छ।’

विभागका अनुसार गत साउन देखि अहिलेको असारसम्ममा १६ अर्ब ८४ करोड ८५ लाखको तरकारी आयात भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले पनि विदेशबाट ल्याइने तरकारीको विषादी परीक्षण गर्ने गरेको र अहिले पनि नरोकिएको बताए।

भने, ‘बिर्तामोड, नवलपुर, धनगढी, बुटवल, पोखरा र काठमाडौंको कालीमाटी गरी ६ ठाउँमा तरकारी परीक्षण हुन्छ, अहिले पनि परीक्षणको काम रोकिएको छैन।’

निषेधाज्ञाको बेला कालीमाटीमा भएन परीक्षण 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले निषेधाज्ञाको बेला कालीमाटीमा तरकारीको विषादी परीक्षण नगरिएको स्वीकारे।

उनले भने, ‘कोरोना संक्रमणको जोखिमले निषेधाज्ञा भएको बेला परीक्षण भएको थिएन, तर अहिले भने यहाँ बाहिर तथा नेपालकै तरकारीको विषादी परीक्षण गरेका छौँ, अहिले पनि निरन्तर गरिरहेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.