धामीलाई खोज्न विशेष टोली, न्याय निम्ति हस्ताक्षर संकलन अभियान

|

धनगढी : महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले डोरी फुस्काइदिएपछि खसेर व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न खटिएको टोली दार्चुलाबाट फर्किएको छ।

घटनाको छानबिन गर्न गृह मन्त्रालयले खटाएको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली सोमबार दार्चुलाबाट फिर्ता भएको हो।

फिर्ता भएको गृहको टोली आज (बुधबार) दार्चुलाबाट धनगढी आइपुगेको छ। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित छानबिन समिति धनगढी पुगेको हो। समितिले अहिले सुदूरपश्चिमकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसँग छलफल गरिरहेको छ।

दार्चुलाबाट मंगलबार फर्किएको टोलीले महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गरेको थियो। सरकारले छानबिन समितिलाई शुरूमा १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिएकोमा सात दिन म्याद थप गरेको छ। 

सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहेका छन्।

छानबिन समितिले जिल्लामा रहँदा नेपाल–भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवम्‌ सूचना संकलन गरेको थियो।

साउन १५ गते भारतीय भूमि प्रयोग गरी सदरमुकाम खलंगा आउँदै गर्दा महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले डोरी फुस्काइदिएपछि खसेर व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए।

खोजी कार्यमा विशेष टोली

बेपत्ता धामीको अवस्था भने अझै अज्ञात छ। परिवारले उनी जीवितै भेटिने आशा मार्दै कुशको आकृति बनाएर दाहसंस्कार गरिसकेका छन्‌।

​तर, तीन वटै सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता धामीको खोजी कार्य जारी रहेको जनाएका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेका बेला प्रहरी प्रधान कार्यालयले खोजीका लागि विशेष प्राविधिक टोली समेत खटाएको छ।

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयको आग्रहमा धामीको खोजीमा सहयोग गर्न दुुई जना प्राविधिकसहितको विशेष टोली खटाएको हो।

उक्त टोलीले अहिले महाकाली नदी क्षेत्रमा ड्रोनको प्रयोग गरेर धामीको खोजी गरिरहेको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

न्याय निम्ति हस्ताक्षर संकलन अभियान

बेपत्ता धामीको न्यायका लागि भन्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा हस्ताक्षर अभियान थालिएको छ।

मौलिक जरोकिलो पार्टीले शनिबारदेखि हस्ताक्षर संकलन अभियान थालेको हो।

सो पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले धामी नदीमा बेपत्ता भएको घटनामा भारतीय पक्षको भूमिकाको भत्र्सना गर्दै पीडित परिवारको न्यायका लागि हस्ताक्षर अभियान संकलन गरिएको जानकारी दिए।

करिब ९ हजार हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाउने योजना रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.