|

काठमाडाैं : राष्ट्रियसभा सदस्य कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न सरकारसँग माग गरेकी छिन्। 

राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन्। 

उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यम मात्रै बनाइएको भन्दै वाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानबिन गर्नुपर्ने बताइन्।

‘यहाँ भ्रष्टाचारका कुरा धेरै भए। भाषण भए। भोट माग्ने माध्यम भए। आउनुहोस् निष्पक्ष छानबिन गरौँ। वाइडबडीको छानबिन गरौँ। अरुण थर्डको छानबिन गरौँ। टनकपुरको छानबिन गरौँ। बालुवाटारको छानबिन गरौँ। ओम्नीको छानबिन गरौँ। आयल निगमको जग्गा खरिदको पनि छानबिन गरौँ। क्यान्टोनमेन्टको पनि छानबिन गरौँ। ठुला ठुला हाइड्रोको पनि छानबिन गरौँ।

उनले भनिन्, '१६५ सांसदको समर्थन छ, के को लागि हो त्यो समर्थन प्राप्त गरेको? अरुको पार्टी फुटाएको के को लागि हो? किन ? तथापि अर्कोतिर औँला नठड्याऔँ। सबैले सबैलाई देखेकै छ।’

वलीले सत्ता स्वार्थ र भ्रष्टाचारका निम्ति नेपालका नदीनालाहरु बन्धक बनेको पनि बताइन्। कतिपय जलविद्युत आयोजना विदेशीको इशारामा सम्झौता भएका र अरबौँ भ्रष्टाचार भएको पनि उनले उल्लेख गरिन्।

‘कति जलविद्युतमा विदेशीको इशारामा सम्झौता भए होलान्। अर्बौंको डिल भयो होला। जलश्रोतको विश्वको दोस्रो धनी देशमा आज पनि हामीले बाहिरबाट ग्याँस ल्याएर चुल्हो बाल्दैछौँ, विजुली दिन सकेका छैनौँ। हाम्रा नदीनालाहरु बन्धक बनेका छन् सत्ताको स्वार्थमा र भ्रष्टाचारका निम्ति।' उनले भनिन् , 'त्यो काम गर्नलाई अहिले कसले रोकेको छ ? त्यसको लागि फेरी केपी ओलीको सरकार आउला भनी पर्खिने? जवाफ चाहियो।’

सांसद वलीले आफूहरु प्रतिपक्षको रचनात्मक आलोचनात्मक सुझावले मुलुक अगाडी बढ्नसक्छ भन्ने कुरामा विश्वस्त रहेको बताउँदै सरकारको सही कुरालाई सही र गलत कुरालाई गलत भनेर आलोचना गर्ने पनि स्पष्ट पारिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.