|

धनगढी : बुधबार रातिदेखि लगातारको बर्षातका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न बनेका छन्।

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकामसमेत रहेको धनगढीका मुख्य सडक र सरकारी कार्यालय नै जलमग्न हुँदा आवत–जावत र सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ। प्रदेशसभा अगाडिकै सडक पार्कमोड आसपासका पसलभित्र पानी पसेको छ।

क्षणभरको वर्षामै सडक खोला जस्तै भएका छन्। धनगढीमा सबैभन्दा बढी एलएनचोक, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहडी, मित्रनगर लगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन्।

धनगढी उपमहानगर भित्रका सयौं घर तथा पसल डुबानमा परेका छन्। यस्तै सुदूरपश्चिम प्रदेशसभा सचिवालय, जिल्ला प्रहरी कार्यालयको परिसर, विद्युत् प्राधिकरण धनगढी शाखाको प्राङ्गण, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लगायतका अधिकांश सरकारी कार्यालयहरु जलमग्न बनेका छन्।

धनगढीको बजार क्षेत्रमा पर्ने वडा नम्बर १ देखि ८ सम्म हरेक वर्ष डुबानको समस्या बढ्दै गइरहेको छ। ५२ वर्षदेखि धनगढीमै बस्दै आएका धनगढी–२ का पुष्पराज जोशी भन्छन्, ‘धनगढीमा पहिले विशालनगरको माधवी चलचित्र हल वरपरको स्थान, हसनपुरको ऐश्वर्य विद्या निकेतन पछाडि र श्रीलंका टोलमा मात्रै डुबान हुने गरेको थियो।’ अहिले भने क्षणभरको वर्षामै धनगढी डुब्ने गरेको छ। किन डुब्छ धनगढी ? यसको पछाडि स्थानीयहरु यस्तो भन्छन्।

खोलानाला अतिक्रमण

धनगढी उपमहानगरपालिकामा सय बढी सार्वजनिक ताल थिए। तीमध्ये अधिकांशको अहिले अस्तित्व नै मेटिएको छ। विगतमा बर्षातको पानी बस्तीमा रहेका तालहरुमा जम्मा हुने गरेको कारण नगरमा डुबानको समस्या थिएन। तर नगर विकास समितिले नै ती ताल बिक्री गरेपछि बर्षातको पानी घरमा जम्ने गरेको नगरवासीको भनाई छ।

यस्तै उपमहानगरका खोलानाला, नहर तथा कुलो अतिक्रमणको चपेटामा परेका छन्। जसमा कैलाली खोला, सकुटी नाला, भंगी नाला र शिवनगर नाला अतिक्रमण गरेर सयौं घर निर्माण गरिएका छन्।

खोला तथा नालाको बहाव क्षेत्र साँघुरो हुने गरि निर्माण गरिएका घर तथा पर्खालले धनगढी भएर बग्ने पानी घरभित्र पस्न थालेको नगरवासीको गुनासो छ। जसले गर्दा डुबानको समस्या बल्झिदै गएको उनीहरुको भनाई छ।

अव्यवस्थित शहरीकरण

नगरको विकास गर्दा खुला ठाउँ, खोलानाला तथा ताल क्षेत्रसहित खुला सार्वजनिक ठाउँ समेत राखेर नगरमा बस्ती विकास गर्नुपर्ने भएपनि धनगढीमा भने नगर विकासको योजनाअनुसार सहरको विकास गर्न नसकिँदा धनगढीमा डुबान बढेको स्थानीयको दाबी छ।

सडक निर्माणमा त्रुटि

धनगढी उपमहानगरपालिकामा निर्माण गरिएका सडक साँघुरा छन्। केही सडक त नाली नै नभएका पनि छन्। नाली निर्माण नगरी बनाइएका सडक र पानी नबग्ने गरी बनाइएका नालीका कारण पनि बर्षातको पानी बस्तीमा जम्ने गरेको छ।

धनगढीमा विभिन्न बस्तीमा बनाइएका सडकमा कल्भर्ट निर्माण नगरिदा पनि पानी बस्तीमा नै थुनिने गरेको छ। धनगढी डुबान पर्नुका कारणको पहिचान गर्न र त्यही अनुरुप डुबान रोक्न उपमहानगरपालिकाले ठोस योजना ल्याउनुपर्ने नगरवासीको माग छ।

धनगढीमा हुने डुबानको समस्या समाधान गर्न नगर विकासले बाँडेका खोलानाला तथा तालको लालपुर्जा खारेज गर्नुपर्ने तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काउनुपर्ने माग पनि उठ्दै आएको छ।

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड पनि असोजदेखि खोलानालाको जग्गामा बाँडिएका लालपुर्जा खारेज गर्ने र अतिक्रमित क्षेत्रमा डोजर लगाउने बताउँदै आएका छन्।

सरकारी सेवा बन्द

लगातार भएको वर्षाले विद्युत प्राधिकरणको प्राङ्गण जलमग्न भएपछि दुई दिनदेखि मिटर जडान तथा महशुल तिर्न जाने सेवाग्राहीलाई गेटबाटै फर्काइने गरेको छ। महशुल बुझाउन गएका चौधरीले भने, ‘सात दिनभित्र महशुल बुझाए विद्युतले छुट दिन्छ।

आज अन्तिम दिन थियो। हतार–हतार आए तर, कार्यालयले महशुल लिनै बन्द गरेको छ।’ धनगढी–५ का बामदेव ओझा बिहीबार नेपाल विद्युत् प्राधिकरण धनगढी शाखामा मिटर जडानका लागि कार्यालय पुगे। तर जलमग्न भएको कारण देखाउँदै उनलाई फिर्ता पठाइयो।

उनीहरुजस्तै अरु सेवाग्राहीहरु पनि दुई दिनयता कार्यालयको गेटबाटै फर्किएका छन्। कार्यालय प्रमुख सुरेन्द्र चौधरीले पानी निकास नहुँदा कार्यालय जलमग्न हुनेगरेको बताए। कार्यकक्षभित्र पानी जम्ने गरेकाले काम प्रभावित भएको उनले बताए।

बाढीले कल्भर्ट भत्कायो

धनगढी उपमहानगरपालिका–१४ स्थित बी गाउँमा रहेको हुलाकी सडक र रिङ्गरोडलाई जोड्ने सडकमा रहेको कल्भर्ट लगातारको बर्षातले भत्काएको छ। कल्भर्ट भत्किएपछि फुलबारीका बासिन्दालाई आवतजावतमा समस्या भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.