|
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक शनिबारदेखि सुरु हुँदैछ। बैठक काठमाडौंको बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि केन्द्रित भएर केन्द्रीय सदस्यहरुले छलफल गर्ने जनाइएको छ।

अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेश गर्ने प्रतिवेदनका विषयमा शुक्रबार स्थायी कमिटी बैठकमा छलफल भएको थियो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने, संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्ने विषय अध्यक्षको प्रतिवेदनमा समेटिएको छ।

१८० जना केन्द्रीय सदस्य रहेको माओवादी केन्द्रको बैठक कम्तीमा तीन दिनसम्म चल्नेछ। बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी संगठनको अवस्थाबारेमा पनि छलफल हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.