खाद्यान्न ढुवानीको माग, प्रशासनको पत्र

|

धनगढी : नागरिकता बनाउन र अन्य सरकारी कामकाजका लागि कहिलेकसो मात्रै दार्चुला सदरमुकाम झर्छन् व्याँसवासी।

नेपाली भूमी भएर खलंगा पुग्न एक दिन पुरै लाग्छ। पहाडको बाटो असुरक्षित। जोखिमको यात्रा गर्नुपर्छ। जयसिंह धामी तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएको घटनापछि उनीहरूका लागि भारतको बाटो पनि बन्द भएको छ। भारतको बाटो हुँदै सदरमुकाम आवतजावत गर्ने व्यासवासीले अहिले चरम समस्यामा परेका छन्।

त्यसैमाथि मालगाउँमा खाद्यान्नको संकटपूर्ण अवस्था सिर्जना भएको बताउँदै भाकभोकै बस्नुपर्ने स्थिति आएको बताउँछन् स्थानीय हर्कसिंह काकी।

‘लगातार ५ घण्टा हिँडेर सुन्सेरा पुगिन्छ,’ उनले भने, ‘त्यहाँसम्म ट्याक्टरमार्फत खाद्यान्न ढुवानी हुने गरेको छ। तर अहिले वर्षाका कारण बाटो अवरुद्ध भएपछि त्यहाँ पनि खाद्यान्नको अभाव छ। व्याँस गाउँपालिका–२ राप्लास्थित मालगाउँ जोड्ने तुइन बन्द भएको १५ दिन बढी भइसकेको छ। खाद्यान्नको संकट भइसकेको छ।’

कतिपयले त लुकीछिपी रातिको समयमा तुइन प्रयोग गरिरहेका छन् भने अन्यले जिल्ला सदरमुकाम खलंगा पुग्न असुरक्षित बाटोमा जोखिम मोलिरहेका छन्। भएका केही पलहरूमा दाल चामल नै छैन भने उपलब्ध सामान पनि चर्को मूल्यमा खरिद गर्न मालगाउँवासी बाध्य छन्। एक लिटर तेलको मात्रै ३ सय ७० रुपैयाँ पुगेको छ।

विगतमा दैनिक उपभोग्य सामग्री भारतबाटै ल्याउन सजिलो हुने गरेको अर्का स्थानीय कल्यानसिंह कार्कीले बताए। उनले भने, ‘कसैको घरमा छाक टार्न चामल छैन। कसैको घरमा नुन सकिएपछि तरकारी पकाउन नपाएर रोटी मात्रै खाइरहेका छन्।’ खाद्यान्न आपूर्तिका लागि स्थानीय तहसँग पटकपटक आग्रह गर्दा पनि कुनै वास्ता नगरेको उनको आरोप छ।

व्याँस गाउँपालिकाको वडा नम्बर २ राप्लामा तीन सय बढी परिवारको बसोबास छ। माल गाउँमा मात्रै ७० बढी परिवार बसोवास गर्छन्। व्याँसको राप्ला, दुम्लिङलगायत क्षेत्र भौगोलिक हिसाबले एकदमै विकट छन्।

हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानीको माग

उक्त क्षेत्रमा नेपालबाट खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा समस्या भएको हो। तत्कालका लागि हेलिकोप्टरबाट भए पनि खाद्यान्न ढुवानी गरिदिन स्थानीयले माग गरेका छन्।

व्याँस गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष धीरनसिंह बुढाथोकीले खाद्यान्नका लागि माथिल्लो निकायसँग कुरा गरिरहेको बताए। सदरमुकामबाट मालगाउँ ५५ किलोमिटर टाढा छ। वर्षाका खलंगाबाट सुन्सेरा जोड्ने सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानी ठप्प छ।

खाद्यान्न आपूर्ति गर्न प्रशासनको पत्र

स्थानीय प्रशासनले व्यास गाउँपालिकामा खाद्यान्न अभाव भएको विषयमा जानकारी गराउँदै ढुवानीको व्यवस्था मिलाइदिन आग्रह गरे पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बेवास्ता गरेको छ।

११ साउनमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीलाई पत्राचार गर्दै व्यास गाउँपालिका–१ मा शीघ्र खाद्यान्न आपूर्तिको व्यवस्था गरिदिन आग्रह गरेका थिए।

तर, प्रजिअ जोशीले पत्राचार गरेको २० दिन बित्दासमेत कुनै सुनुवाइ नभएपछि आइतबार फेरि पत्राचार गर्दै तत्काल खाद्यान्न आपूर्ति व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

व्यास गाउँपालिका–१ मा गत वर्षसमेत सरकारबाट स्वीकृत पाँच सय क्विन्टल चामल ढुवानी नभएको पनि पत्रका उल्लेख गरिएको छ। 

आइतबारको पत्रमा प्रजिअ जोशीले गाउँपालिका कार्यालयबाट लिखित तथा मौखिक रुपमा अनुरोध भइआएकाले हवाई सेवामार्फत भए पनि तत्काल पाँच सय क्विन्टल चामल र गहुँको ढुवानी गरिदिन भनेका छन्।

‘भौगोलिक विकटता, हिमपात समेतको जोखिम र नेपालतर्फ खाद्यान्नको ढुवानीको वैकल्पिक सडक बाटोसमेत नभएकाले खाद्यान्नको चरम अभावका कारण सम्बन्धित क्षेत्रका आम नागरिकलाई पर्न सक्ने कठिनाइ तथा खाद्यान्न अभावको महामारी समेतलाई दृष्टिगत गरी छिटो साधन हेलिकप्टरबाट तत्काल ढुवानीको व्यवस्था मिलाइदिन अनुरोध छ,’ प्रजिअले लेखेको पत्रमा उल्लेख छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले भने केन्द्रीय कार्यालयमा व्यासको समस्याबारे जानकारी गराइसकेकाले चाँडै खाद्यान्न ढुवानी गरिने बताउँदै आएको छ।

चाडपर्व आए, कसरी मनाउने ?

नजिकिँदै गरेका चाडपर्वमा मनाउने बखतमै दैनिक उपभोग्य सामान ल्याउन कठिन भएपछि कसरी मनाउने भन्ने पिरलोमा छन् स्थानीय। घण्टौँ पैदल हिँडेर सदरमुकामबाट सामान ल्याउन सक्ने अवस्था नभएको स्थानीयहरू बताउँछन्। 

‘कालिपारि पसलबाट सामान ल्याउँथ्यौं। यो घटनाले यस्तो अवस्था आउला भन्ने कल्पना गरेका थिएनौं’, स्थानीय मुकेश धामीले भने, ‘हामीलाई नुनतेल, खाद्यान्न सकिएर समस्या भएको छ। तीन दिन लगाएर सदरमुकामबाट सामान ल्याउन पनि गाह्रो छ।’ गौरापर्वलगायतका चाडपर्व नजिकिँदै छन्।

सामान आपूर्ति हुन नसकेपछि गाउँका पसल रित्तिइसकेका छन्। ती पसलमा पनि मालघाटको तुइनबाट सामान आपूर्ति हुन्थ्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.