|

सुर्खेत : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कर्मचारीलाई तत्काल कार्यसम्पादन सम्झौता गर्न निर्देशन दिएका छन्।

आर्थिक मामिला मन्त्रालाय प्रदेश सरकारको मेरुदण्ड भएकाले कर्मचारीले कार्यसम्पादन पारदर्शी र छिटो छरितो गर्न मन्त्री शर्माले कर्मचारीलाई निर्देशन दिएका हुन्।

प्रदेश सरकारका सबै गतिविधिहरू आर्थिक मामिला मन्त्रालयमार्फत हुने भएकाले प्रदेश सरकारलाई गतिशील पार्न र उद्देश्यअनुसारको प्रगति हासिल गर्नका लागि आर्थिक मामिला मन्त्रालय गतिशील हुन आवश्यक रहेको मन्त्री शर्माले बताए।

मन्त्री शर्माले भने, ‘कार्य सम्पादन एक लिखित दस्तावेज हो तर मुख्य कुरा मन मस्तिष्क र सोचाई हो, पारदर्शी तथा छिटो छरितो आफ्नो जिम्मेवारी पूरा गर्ने कुरा नै महत्वपूर्ण हो’, ‘औपचारिकताभन्दा पनि व्यवहारत कार्य सम्पादन गर्नमा अब्बल हुन आवश्यक छ।’

मन्त्री शर्माले अर्थले फाइल अड्काइदिएको र अर्थ मन्त्रालयका कारण बजेट कार्यान्यनमा ढिलाइ भयो भन्ने जस्ता कुरा योभन्दा पहिला सुनिँदै आएको अवस्था रहेकोमा अबका दिनमा प्रक्रिया पूरा भएका योजना तथा कामलाई छिटो–छरितो कार्य सम्पादन गर्नु पर्नेमा जोड दिए।

त्यस्तै, मन्त्रालयका सचिव चक्रबहादुर बुढासँग कार्यसम्पादन सम्झौता गर्ने क्रममा मन्त्रालयका सचिव, महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई निर्देशन दिँदै मन्त्री शर्माले जनताप्रति उत्तरदायी र जवाफदेही भएर मनैदेखी काम गर्न आग्रह समेत गरे।

सचिव बुढाले भने, ‘कर्मचारीको मूल्यांकन पनि कार्य सम्पादनका आधारमा हुने भएकाले कार्य सम्पादन सम्झौताको महत्व रहेको छ’,‘कर्मचारीले कसरी काम गर्छ, उसको कार्य सम्पादन कति भएको छ भन्ने कुराले सोहीअनुसार उक्त कर्मचारीलाई थप प्रोत्साहन दिइनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.