|

काठमाडौं : संघीय संसदको नयाँ भवन निर्माणमा संलग्न मजदुरलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ।

मजदुर, व्यवस्थापन एवं निर्माण आबद्ध प्राविधिकसहित भवन निर्माणमा संलग्न ५ सय ४६ जनालाई  मंगलबार खोप लगाइएको हो। संघीय संसद सचिवालयका चिकित्सक डा.पुष्प रिजालले सिंहदरबार परिसरस्थित पुतलीबगैंचामा उनीहरूलाई आस्ट्राजेनेका खोप लगाइएको जानकारी दिए।

पुतलीबगैंचामा संसद भवन निर्माण भइरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले साउन २६ गते निर्माणाधीन भवन अवलोकन गरेका थिए।

त्यसै क्रममा निर्माण पक्षले त्यहाँ काम गरिरहेका मजदुरलगायत सबैलाई कोरोनाविरुद्धको खोप लगाउन पहल गरिदिन सभामुखसमक्ष आग्रह गरेको थियो। खोप लगाउन पाए मजदुर ढुक्क भएर निर्माणमा लाग्ने निर्माण पक्षको भनाइपछि सभामुख सापकोटाले खोपका लागि पहल गर्ने आश्वासन दिएका थिए।

सभामुखले यसबारे निर्देशन दिएपछि स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर मजदुरलाई खोप लगाइएको जानकारी डा. रिजालले दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.