|

जनकपुरधाम : प्रदेश २ प्रदेशसभाको बैठक पछिल्लो एक महिना यता बस्न सकेको छैन। यसअघि असारमा पनि कोरोना महामारीको कारण प्रदेशसभा बैठक पटकपटक स्थगित भएको थियो।

बजेट पारित गरेपछि प्रदेशसभा बैठक असार २९ गतेपछि छैटौं अधिवेशन समाप्त भएको थियो। अर्को अधिवेशन नबोलाउदा विषयगत समितिका काम–कारबाही र १३ वटा विद्येयक प्रदेशसभामा अलपत्र छ। प्रदेशसभाको कार्यकाल चार वर्ष बित्नै लाग्दा लेखा समितिको सभापतिसहित तीन विषयगत संसदीय समितिको सभापति चयन हुन सकेको छैन।

प्रदेशसभा बैठक नियमित नहुँदा सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्थापन समितिको सभापति चयन हुन नसकेको हो। लेखा समिति सुरुदेखि नै नेतृत्वविहीन छ  भने प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापति रहेका माओवादी केन्द्रले प्रदेश सांसद रामचन्द्र मण्डललाई कारबाही गरी निलम्बन गरेको र कृषि तथा भूमि व्यवस्थापन समितिका सभापति रहेका नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंह महिला बालबालिका युवा तथा खेलकुदमन्त्री बनेपछि ती सबै समितिहरु सभापतिविहीन बनेको हो।

प्रदेशसभा बैठक बस्न नसक्नुको कारण प्रदेशका मन्त्री र सांसदहरु पार्टीको आन्तरिक विवादमा फसेको बताइएको छ। प्राय सबै पार्टीबीच आन्तरिक विवादको देखिएको छ। जनता समाजवादी पार्टी (जसपा)मा उपेन्द्र यादव समूह र महन्थ ठाकुर–राजेन्द्र महतो समूह गरी दुई गुट रहेको छ।

नेकपा एमालेमा पनि ओली र नेपाल गरी दुई गुट छन्  भने नेपाली कांग्रेसमा महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद रहेको अवस्था छ।

मन्त्री र सांसदहरू पार्टीको बैठक र विवाद समाधानका लागि कहिले जिल्ला त कहिले काठमाडौं दौडाहामा देखिएको छ। नेपाली कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले प्रदेशसभा बैठक लामो समयसम्म नबस्दा जिल्ला, निर्वाचन क्षेत्रको समस्या र अपराधबारे सांसदले कुरा राख्न नसकेको अवस्था सिर्जना भएको बताउँछन्। उनले भने, ‘प्रदेश सभामा जिल्लाका समस्या उठान हुँदा सुरक्षा निकायका र सम्बन्धित सरोकारवाला गम्भीरताका साथ समस्या समाधानतर्फ लाग्ने थियो तर सांसदको मुख नै थुनिएको छ।’

सचेतक कुशवाहाका अनुसार सांसद र मन्त्री पार्टीकै विवादमा काठमाडौं धाएकाले भदौ महिनामा समेत बैठक बस्ने सम्भावना कम छ।

नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतोले सरकार परिवर्तन, पार्टीहरूमा आन्तरिक विवाद र वर्षाका कारण प्रदेश सभा बैठक बस्न नसकेको बताए। ‘सरकारको विनियोजन विद्येयक पारित भएपछि बैठक बस्न सकेको छैन,’ उनले भने, ‘प्रदेश सभामा विधेयकहरू पाइपलाइनमा छ। महत्त्वपूर्ण विधेयक प्रदेशसभाबाट पारित भइसकेकाले बैठक नबस्दा पनि खासै समस्या भएको छैन। हाम्रै पार्टीभित्रसमेत विवाद छ। अन्य पार्टीमा पनि विवाद छ। प्राविधिक कारणले बैठक असोजअघि बस्ने अवस्था छैन।’

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश सभा बैठकका लागि छलफल भइरहेको बताए। उनले भने, ‘प्रदेशसभा विजनेशविहीन भएको छैन, प्रदेशसभामा केही विधेयक छलफलको क्रममा छ। बैठकका लागि प्रयास भएको छ। कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर केही दिनभित्रै प्रदेशसभा बैठक बस्ने छ।’

प्रदेश सभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले प्रदेश सभामा १३ विद्येयक दर्ता भएर प्रक्रियामा रहेको जानकारी दिए। जसमध्ये केही विद्येयकमाथि छलफल सकिएको र केही छलफलकै क्रममा रहेको उनले बताए। यादवले सातौं अधिवेशन सुरु भएपछि १३ वटै विधेयक प्रदेश सभाबाट पारित हुने जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.