नेपालको नयाँ पार्टीमा तत्काल नजाने मनस्थितिमा १६ सांसद

|

धनगढी : नेकपा एमालेमा भएको विभाजनको प्रभाव प्रदेश सरकारमा पनि देखिन थालेको छ। एमाले विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा सरकार फेरबदलको चर्चा सुरु भएको छ। एमाले फुटपछि वर्तमान सरकारले निरन्तरता नपाउने र नयाँ गठबन्धन सरकार निर्माण गर्न छलफल सुरु भएको हो।

यसअघि नै माओवादी केन्द्र र नेपाली कांग्रेसबीच दुई/दुई प्रदेशमा सत्ताको नेतृत्व लिने सहमति भइसकेकाले सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकारमा बन्ने पक्कापक्की जस्तै भइसकेको थियो।

अब सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने र गठबन्धनको सरकार बन्ने कांग्रेसका सांसदको भनाइ छ। नयाँ बन्ने सरकारमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले समाजवादी र जसपा सहभागी हुने छन्।

सरकारमा नेकपा एमाले बाहेक सबै दल सहभागी हुने तर्क सांसदहरूको छ। सुदूरपश्चिम प्रदेशमा रहेका जसपाका २ सांसदले आफूहरू आधिकारिक जसपामा रहेको स्पष्ट पारिसकेपछि उनीहरू पनि सत्ता साझेदार बन्ने निश्चितप्रायः छ।

कांग्रेस संसदीय दल सुदूरपश्चिमका नेता रणबहादुर रावलले सरकार गठनको तयारी र छलफल भइरहेको बताए। उनले भने, ‘हामी केन्द्रको निर्णयको पर्खाइमा छौं, सम्भवतः दशैंअघि नै प्रदेश सरकार परिवर्तन हुन्छ। केन्द्रको निर्णयमा ढिलाइ नभए यसभन्दा अघि नै पनि हुन सक्ला।’

हाल माओवादी केन्द्रका सांसद त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्य छन्। माओवादीबाट एमालेमा प्रवेश गरेका झपट बोहरा पदमुक्त भएपछि अहिले ५२ जना सांसद मात्र छन्। सरकार बनाउन २७ जनाको समर्थन चाहिन्छ।

सुदूरपश्चिममा एमाले विभाजन नभएमा पनि सरकार गठनका लागि माओवादीका १३, कांग्रेसका १२ र जसपाका २ जनासमेत गरी सांसदको संख्या २७ पुग्छ। माधव नेपाल नेतृत्वको एमाले समाजवादी पनि यसमा सहभागी भएपछि सरकार गठनका लागि स्पष्ट बहुमत पुग्नेछ। अहिले २ सांसद एमाले समाजवादीका पक्षमा प्रष्ट खुलेका छन्।

नेपालको नयाँ पार्टीमा तत्काल नजाने मनस्थितिमा १६ सांसद

प्रदेशसभामा माधव नेपालनिकट नेकपा एमालेका २ जनाबाहेक बाँकी सासंद तत्काल एमाले समाजवादी पार्टीमा प्रवेश नगर्ने मनस्थितिमा छन्।
हाललाई सुदूरपश्चिम सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र प्रदेशसभा सदस्य एवम् पूर्व उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्ट मात्र एमाले समाजवादीमा खुलेका छन्। उनीहरु एमाले समाजवादीकोे केन्द्रीय सदस्य बनेका छन्।

तर, यसअघि प्रदेशसभामा नेपाल पक्षमा रहेका अन्य १६ सांसद भने तत्काल नयाँ पार्टीमा नलाग्ने बताइरहेका छन्। यसअघि माधव पक्षमै रहेका प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले तत्काल एमाले समाजवादीमा जाने नजाने टुंगो नलागेको बताए।

केन्द्रमा भीम रावल तटस्थ बसेकाले सुदूरपश्चिममा यसअघि नेपालनिकट रहेका अधिकांश सासंद पनि तत्काल एमाले नछाड्ने अडानमा छन्। एक सांसद भन्छन्, ‘अधिकांश सासंद भीम रावलको कदमबमोजिम चल्ने भएकाले सोहीअनुसार प्रदेशमा पनि निर्णय हुन्छ।’

सुदूरपश्चिममा एमालेका २५ जना सांसद रहेकामा यसअघि ७ जना एमाले अध्यक्ष केपी शर्मा ओली र १८ जना नेपाल पक्षमा रहेका थिए।

केन्द्रीय सदस्य को कता ? 

एमालेका केन्द्रीय सदस्यमध्ये सुदूरपश्चिमबाट गरिमा शाह, प्रेम आले र निरादेवी जैरू मात्र एमाले समाजवादीमा गएका छन्। यसअघि माधव पक्षमै रहेका भीम रावल, झपट रावल, विक्रम शाही, रामकुमार ज्ञवाली, भानुभक्त जैसी र प्रकाश शाहले भने एमाले छाडेका छैनन्। जैसीको नाम केन्द्रीय कमिटीमा राखिएको भए पनि उनले असहमति जनाएका छन्।

एमालेमा अहिले लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, लीला भण्डारी, गौरी ओली, पुरनसिंह दयाल, गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, निरू पाल र भैरव सिंह छन्।

राष्ट्रियसभा र प्रतिनिधिसभा

सुदूरपश्चिमबाट कञ्चनपुरका इन्दु कडरिया विष्ट, डडेल्धुराका चक्र स्नेही र कैलालीकी शारदा भट्ट एमालेमै छन्। अछामका शेरबहादुर कुँवरले भने नेपाल पक्षलाई साथ दिने बताइएको छ तर एमाले समाजवादीको कमिटीमा उनी देखिएका छैनन्।

प्रत्यक्षतर्फ १६ निर्वाचन क्षेत्रमा एमालेका ११ सांसद थिए। तीमध्ये कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरव सिंह, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी एमालेमै छन्।

यसअघि नेपाल पक्षमा रहेका अछामका भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट एमाले समाजवादीमा गएका छैनन्। डोटीबाट निर्वाचित प्रेम आले भने एमाले समाजवादीमा गएका छन्।

एमालेको तर्फबाट समानुपातिकमा प्रदेशका ५ जनामध्ये कैलालीकी लक्ष्मी चौधरी र डडेल्धुराकी निरादेवी जैरू नेपाल पक्षमा छन्। जैरू केन्द्रीय सदस्य हुन् भने चौधरी कमिटीमा छैनन्। ओलीले कारबाही गरेका १४ जनामध्ये चौधरी पनि एक हुन्।

यसअघि ओली पक्षमा रहेकी कञ्चनपुरकी विना बुढाथोकी पनि अहिले नेपालसँगै छिन्। उनी पनि कमिटीमा छैनन्। समानुपातिकमध्ये कञ्चनपुरकी निरू पाल र बझाङकी आशा विक मात्र एमालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.