|

काठमाडौं : पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एमाले (समाजवादी)लाई समर्थन गर्ने जनाएका छन्।

एकता अभियानको कार्यसम्पादन समितिको बिहीबारको भर्चुअल बैठकमा गौतमले नेपाल नेतृत्वको एमाले समाजवादीलाई समर्थन गरेर अघि बढ्ने बताएका हुन्।

एकता अभियानका सचिव बाबुराम थापाले गौतमले बृहत् कम्युनिस्ट एकतामा जोड दिँदै नेपाल पक्षको समाजवादी पार्टीलाई साथ दिने बताए। उनले बृहत एकताका लागि एमाले समाजवादीसँग संवाद गर्ने कुरा भएको जानकारी दिए।

त्यसका लागि आवश्यक गृहकार्य गर्न गौतमले अभियानका सहसंयोजक हरि पराजुली र सचिव थापालाई जिम्मा दिएका छन्। कार्यसम्पादन समितिको अर्को बैठकले आवश्यक निर्णय लिने थापाले जानकारी दिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीका कारण एकतामा समस्या भए पनि बृहत् कम्युनिस्ट एकताका लागि पहल जारी राख्ने निष्कर्षमा गौतम पुगेको बताइएको छ।

उनले ओलीको पक्षमा लागेर अब पार्टीका लागि केही गर्न नसकिने बताएका छन्। यसअघि गौतम कहिले केपी ओलीतिर कहिले नेपालतिर लाग्दै आएका थिए।

एमाले विवाद चर्केपछि उनले केही समयअघि एकता अभियान सुरु गरेका थिए। बीचमा भने उनको गतिविधि सुस्ताएको थियो। गौतमले २०५४ सालमा नेकपा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका थिए। पछि उनी पुनः एमालेमै मिलेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.