|

पाल्पा : दैनिक जसो भक्तालुहरुको निकै भीड लाग्ने रिब्दीकोट गाउँपालिका–४ भैरवस्थान रहेको भैरवनाथ मन्दिरमा यतिबेला सुनसान छ। 

यहाँ एसियाकै ठूलो त्रिशुल छ। त्यही त्रिशुल हेर्ने र त्रिशूलसँग फोटो खिच्न दैनिक सयौं मानिस आउने गर्दथे। मनोकांक्षा पूरा हुने भन्दै पूजा आराधना गर्ने र बलि चढाउँनेको घुइँचो नै लाग्ने गर्दछ। आध्यात्मिक पर्यटक अध्ययन अवलोकनका लागि यहाँ आउँछन्।

यहाँ पञ्चेबाजासहित पञ्चबली ल्याउने चलन छ। अहिले आएका भक्तालुले मन्दिरमा पूजा गर्न नपाउँदा केही टाढै पूजा तथा बलि चढाएर जाने गरेका छन्। 
कोरोना महामारीका कारण पछिल्लो समयमा भक्तालु आउन छाडेका छन्। मानिसको कुनै चहलपहल छैन्। 

मन्दिरमा सुनसान छ। गएको वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा अहिले पनि हटेको छैन्। पाल्पामा पुनः भदौ १२ गतेसम्म निषेधाज्ञा थप गरिएको छ।  सवारी साधन चलेका छन्। बजार पसल खुलेका छन्। मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा आवतआवत गरिरेहका छन्। तर मन्दिरमा पूजा गर्न रोक लगाइएको छ। आम भक्तालुका लागि मन्दिर खुला गरिएको छैन्। नित्य पूजा बाहेक अन्य पूजा गर्न रोक लगाइएको छ। 

विगत २ वर्षदेखि यहाँ भक्तालु आएका छैनन्। भक्तालु आउनु, मेडो चढाउनु नै मन्दिरको मुख्य आम्दानी हो। दैनिक सरदर एक हजार भक्तालु मन्दिरमा पूजा गर्न आउने गरेको मन्दिर व्यवस्थापन समितिका व्यवस्थापक मीनबहादुर बुढाथोकीले सम्झिए।  मासिक ५ लाख बढी कारोबार हुन्थ्यो। अहिले आम्दानी शून्य छ। नित्य पूजा गर्न समेत समस्या भइरहेको उनले बताए।   

मन्दिरका मूल पुजारीसहित केही सहयोगी कर्मचारीलाई बिहान साँझ खान समस्या हुन थालेको छ। मन्दिरमा चढाएका पैसा, मेडोको रुपमा चढाउन ल्याएको बोका, कुखुराका टाउका बिक्री गरेर मन्दिरको खर्च चल्दै आएको थियो। परेवा र मन्दिरबाट नै रोट बनाएर भक्तालुलाई बिक्री गरेका रकमबाट मन्दिरको खर्च व्यवस्थान हुँदै आएको उनले बताए। खर्चबाट बचत भएको रकमबाट मन्दिरले अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको थियो।  

सामान्य दिनमा यहाँ करिब २० जना कर्मचारी थिए। अहिले त्यो संख्या घटेको छ। कर्मचारीलाई तलब दिन नसकेपछि घरमै बस्न भनिएको छ।  काम गर्ने कर्मचारी नहुँदा मन्दिर भताभुङ्ग अवस्थामा छ। पर्यटक घुम्ने बगैँचामा झाडी उम्रिएका छन्। बस्ने कटेज तथा प्रतीक्षालयमा पानी चुहिन्छ। मन्दिर र मन्दिर परिसर अस्तव्यस्त बनेको छ। 

देश तथा विदेशमा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित भैरवनाथ मन्दिरलाई संरक्षण गर्न मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले बताए। तीनै तहका सरकारले यसको संरक्षणमा सहयोग गर्नुपर्ने उनले बताए। 

यहाँका सबै संरचना जीर्ण बन्दै गएको उनले बताए। केन्द्रीय सरकारबाट प्राप्त सहयोगमा मन्दिरको भवन जीर्णोद्धार गर्न समेत कठिन भइरहेका उनले बताए। अझै निषेधाज्ञा जारी रहे मन्दिरको अस्तित्व नै खतरामा पर्ने अवस्था छ। मन्दिर संरक्षणको लागि सबैले सहयोग गर्नुपर्ने अधिकारीले अपिल गरे।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.