|

जनकपुरधाम : दल विभाजनसम्बन्धी अध्यादेश जारी भएलगत्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेकपा एमाले विभाजित भए। जसको असर प्रदेश २ मा रुपमा देखा परेको छ।

जसपाबाट फुटेर गएको महन्थ ठाकुर–राजेन्द्र महतो समूहले जसपा (लोकतान्त्रिक) गठन गरेका छन्। प्रदेशसभा सदस्यको गणनामा उक्त पार्टी उपेन्द्र यादव नेतृत्वको जसपाभन्दा कमजोर छ।

दल विभाजनअघि यादव पक्षमा ३० सांसद थिए। अहिले ४० जना पुगेको छ। समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण हुनअघि जसपाको ३० सांसद थियो। अहिले राजपाका १० जना सांसद पनि यादव नेतृत्वको जसपामा नै रहेका छन्। राजपाबाट निर्वाचन जितेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, समाजिक विकासमन्त्री नवलकिशोर साह, पूर्वराज्यमन्त्री सुरेश मण्डल, रानी शर्मा, डा. रीना यादव, अञ्जु यादव, नीरा साह, बिन्देश्वर यादव (बिक्की) र मनिष सुमन यादव नेतृत्वको जसपामा नै रहेका छन्।

वर्तमान अवस्थामा प्रदेश सभामुख सरोज कुमार यादव दलको सदस्य नरहेकाले उनको गणना कतै नगरिए पनि उनी पनि जसपामै रहेको बताइएको छ।

यता ठाकुर नेतृत्वको जसपा (लोकतान्त्रिक)मा अहिले १४ जना सांसद छन्। प्रदेश सभाको बैठक सुरु भएपछि उनीहरुमध्ये केही जसपामा नै खुल्ने भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव दावी गर्छन्। उनले मुल पार्टी छोड्ने संख्या कम हुने बताए।

एमाले समाजवादी बलियो

प्रदेशसभामा नेकपा एमाले भन्दा विभाजन भएर बनेको माधव नेपालको एमाले (समाजवादी) बलियो अवस्थामा रहेको छ। एमालेका २१ जना सांसदमध्ये संस्थापन पक्ष एमालेमा आठजना मात्र रहेका छन्। १३ जना एमाले समाजवादीमा रहेका छन्।

प्रदेश सभामा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यमध्ये अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातनु माधव पक्षमा खुलिसकेका छन्। ओली पक्षमा सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह कमल, जगतारेन देवी सुडिन, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद रहेका छन्।

यद्यपि केन्द्रीय सदस्यको हिसाबले हेर्दा दुवै समूह बराबरीकै स्थितिमा छ। प्रदेश २ बाट एमाले केन्द्रीय सदस्य संख्या ३२ छ। जसमध्ये १६ जना ओली समूहमा र १६ जना माधव समूहमा छन्। तर‚ प्रदेश कमिटीमा भने माधव समूह मजबुत छ। १०० सदस्यीय प्रदेश कमिटीमा ६० जना माधव समूहमा र ४० जना ओली समूहमा छन्।

त्यस्तै‚ प्रदेशका ६ जिल्लामा पनि माधव समूह नै मजबुत स्थितिमा छ। जसमध्ये ५ वटा जिल्लामा माधव समूहले जिल्ला कमिटीको नेतृत्व नै गरिरहेको दाबी गरेको छ।

पार्टीको अवस्थाको हिसाबकिताब सम्बन्धमा ओली समूहका प्रदेशसभा सदस्य शारदा देवी थापाले भनिन्, ‘गणितीय हिसाबमा हामी कमजोर देखिए पनि जनाधार हाम्रो बलियो छ।’ उनले सूर्य चिह्नलाई माया गर्नेहरु ओली पक्षमा नै उभिने बताइन्।

त्यसैगरी माधव पक्षका नेता श्रीप्रसाद साहले प्रदेश २ मा पार्टी विभाजनको प्रत्यक्ष असर पार्टीमा परे पनि ओलीभन्दा आफूहरु बलियो रहेको दाबी गरे। उनले भने, ‘हामी आगामी निर्वाचनमा ओलीको प्रतिगमनको विषयमा जनतालाई सम्झाउने छौँ, जनताले पक्कै हाम्रो विश्वास गर्नेछन् र हामी पक्कै पनि बहुमत सिट जित हात पार्ने छौं।’

१०७ सदस्यीय रहेको प्रदेश नम्बर २ को प्रदेशसभामा अहिले १०४ जना सदस्य छन्। नेकपा विभाजित हुँदा तीनजना प्रदेशसभा सदस्य एमालेमा लागेपछि माओवादी केन्द्रले उनीहरूलाई कारबाही गरेको थियो। प्रदेशसभामा जसपाको ४० जना रहेका छन्। नेपाली कांग्रेसका २२ र एमाले(समाजवादी) १३, एमाले आठजना रहेका छन्। माओवादी केन्द्रका सात र जसपा (लोकतान्त्रिक)का १४, स्वतन्त्र १ जना रहेका छन्।

यसरी दल विभाजनसँगै यादव नेतृत्वको जसपापछि दोस्रो ठूलो दल कांग्रेस नै बनेको छ। स्रोतहरुका अनुसार निर्वाचन आयोगबाट एमाले समाजवादीले दलको मान्यता पाउना साथ प्रदेश २ को सरकारमा सहभागी हुनेछ।

दल विभाजनले व्ययभार बढ्यो

जसपा र एमाले विभाजन भएसँगै प्रदेश २ को प्रदेश सभामा व्यय भार बढेको छ। प्रदेशमा जसपा, एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र रहेकोमा अब दुईवटा दल थपिने भएपछि व्यय भार बढ्ने भएका हो।

प्रदेश सभासचिव रञ्जित कुमार यादवले महन्थ ठाकुरको अध्यक्षतामा विभाजित जसपा (लोकतान्त्रिक) र एमाले (समाजवादी) प्रदेश २ मा थपिने भएपछि व्यय भार पनि थपिने भएको जनाए।

दलका नेता र प्रमुख सचेतकलाई प्रदेश सभाले उपलब्ध गराउने सेवा सुविधा दिनु पर्ने भएपछि व्यय भार बढ्ने प्रदेशसभा सचिव यादवले जनाए। उनले दल दर्ता भएको औपचारिक जानकारी प्राप्त भएपछि सेवा सुविधा उपलब्ध गराइने बताए। सचिव यादवले भने, ‘निर्वाचन आयोगले दलको मान्यता दिएको प्रमाणसहित प्रदेश सभामा दावी पेश हुन आएपछि सेवा सुविधा दिइनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.