अधिकांश योजना अलपत्र

|

काठमाडौं : चिरीबाबु महर्जन ललितपुर महानगरपालिकाका प्रमुख पदमा निर्वाचित हुनुअघि र पछि जनतासामु थापाथलीदेखि पुल्चोकसम्म फ्लाइओभर निर्माण, निःशुल्क प्रि स्कूल र तेल मिल निर्माण गर्नेलगायत प्रतिबद्धता जाहेर गरे।

चुनाव जितेपछि पनि प्रतिबद्धता व्यक्त गरेका योजना कार्यान्वयन गरेर मतदाताको मन जित्ने उनले बताएका थिए। उनले कार्यभार सम्हालेको चार वर्ष पूरा भइसकेको छ।

२०७४ जेठ १० गते नेपाली कांग्रेसबाट उम्मेदवार भइ ललितपुर महानगरको प्रमुख विजयी भएका उनले जाहेर गरेका प्रतिबद्धता पूरा गर्न भने सकेका छैनन्‌।

यस्ता थिए प्रतिबद्धता

महर्जनले सडक सुविधा र बजारको पूर्वाधार तथा पहुँच भएको ठाउँमा पशुजन्य संकलन तथा प्रशोधन केन्द्र व्यवस्था गर्ने योजनासहित प्रतिबद्धता जाहेर गरेका थिए।

महानगरीय पुस्तकालय सञ्चालन, निःशुल्क प्रि स्कूल व्यवस्थादेखि पर्यटन बसपार्क र तेल मिल निर्माण गर्नेसम्म प्रतिबद्धता उनले जनाएका थिए। तर, अहिलेसम्म पनि मिलसम्म जडान भएको छैन।

त्यस्तै, उनको प्रतिबद्धताको चाङमा ललितपुरलाई खुला कसिङ्‌गर मुक्त गर्ने योजना पनि थियो। तर, अहिले पनि धुँवाधुलोका कारण महानगरका अधिकांश स्थानमा सहजै सास लिँदै हिँड्नसक्ने अवस्था छैन। प्लाष्टिक झोला मुक्त गर्ने योजना पनि अलपत्र छ।

उनी निर्वाचित भएपछि थापाथलीदेखि पुल्चोकसम्म १.४ किलोमिटर लामो फ्लाइओभर निर्माण गर्न तत्काल सम्भाव्यता अध्ययन थाल्ने बताएका थिए। तर, बनाउन सकेनन्। हस्तकला, चित्रकला, मूर्तिकला र काष्ठकलामा लागेका युवा उद्यमीहरूको सीप र क्षमता विकास गरिने पनि उनले प्रतिबद्धता जनाएका थिए।

त्यस्तै, प्रत्येक वडामा एक सार्वजनिक शौचालय निर्माण, कृषि पकेट क्षेत्र घोषणा गर्ने, भूकम्पले भत्काएका सांस्कृतिक सम्पदा संरक्षण तथा पुनःनिर्माण गर्नेलगायत योजनामा पनि सन्तोषजनक काम नभएको नगरबासी बताउँछन्‌। ​भूकम्पमा क्षतिग्रस्त सम्पदाहरू अहिलेसम्म पनि ठडिन सकेको छैन।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार बंगलामुखी मन्दिर, हरिसिद्धि, मछिन्द्रनाथ मन्दिरलगायत करिब १९ वटा ठूला सम्पदालाई भूकम्पले पूर्ण क्षतिग्रस्त बनाएको थियो। यी सम्पदाको ८० प्रतिशत काममात्रै सकिएको छ।

बिजुली, इन्टरनेट र फोन लगायतका तारलाई अण्डरग्राउण्ड गर्ने योजना ल्याएपनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। महर्जनको कार्यकाल भने आगामी चैत महिनामा सकिँदैछ।

यी कारणले चर्चा र आलोचित

चुनावमा जितेपछि कामभन्दा पनि बढी विदेश भ्रमण गरेको भनी उनको चर्को आलोचना भएको थियो। एक वर्षमा ८ देशको भ्रमण गरेको भन्दै धेरैले उनको आलोचना गरेका थिए।

तर, महानगरपालिकाका प्रवक्ता महर्जन भने घुम्न नभइ महानगरपालिकाकै कामकाजकै लागि नगरप्रमुख विदेश गएको बताउँछन्। भने, ‘मेयर महानगरकै कामकाजका लागि जानुभएको हो, आलोचना गर्नुभन्दा पनि त्यसको उद्देश्य बुझ्नु जरुरी छ।’

महानगरपालिका प्रमुख महर्जनले आलोचना मात्रै खेपेका भने होइन। पछिल्लो समय राम्रो काम गरेको भन्दै केहीले उनको प्रशंसा पनि गर्ने गरेका छन्। काठमाडौं महानगरपालिकाले नगरेको काम उनले आफू नेतृत्वको महानगरपालिकामा गरेका छन्।

काठमाडौं महानगरपालिकाले साइकल लेन बनाउन नसकेपनि महर्जनले सडकमा साइकल लेन बनाएका छन्‌। पोष्टर टाँस्न दिएका छैनन्। अनावश्यक होर्डिङ बोर्ड हटाउन त्यहाँका नगर प्रहरी क्रियाशील छन्‌। यस पाटोबाट भने महर्जनको छवि राम्रै भएको महानगरबासीले पाएका छन्।

के भन्छन्‌ मतदाता ?

केही कुराहरूमा भने महर्जन चुकेको उनका मतदाता बताउँछन्। जावलाखेलका स्थानीय रमेश महर्जन प्रमुख महर्जनमा विकास गर्ने खुबी भएपनि केही राजनीतिक खेलाँचीका कारण अपेक्षाजस्तै विकास गर्न नसकेको तर्क गर्छन्‌।

भन्छन्‌, ‘उहाँले विकासका कामहरू त गरिहाल्ने नै हो, तर, राजनीतिक प्रभावमा परेपछि चाहीँ काम गर्नुहुन्न, काठमाडौं महानगरपालिकाको तुलनामा त यहाँ थुप्रै सुधार गर्नुभएको छ।’

उनका अनुसार प्रमुख महर्जनले ठाउँठाउँमा पार्किङको व्यवस्था गर्न सकेका छैनन्। महानगरपालिका वडा-९ भवन अघिकै बाटो अझैसम्म कालोपत्रे गरिएको छैन। जसकारण पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ।

८० प्रतिशत प्रतिबद्धता पूरा गरेको दाबी

महानगरपालिका प्रमुख महर्जनले चुनावी प्रतिबद्धताबमोजिम हालसम्म ८० प्रतिशत  सकाएको दाबी गरे। थाहाखबरसँग उनले भने, ‘मैले ८० प्रतिशत प्रतिबद्धता पूरा गरेको छु, बाँकी २० प्रतिशत बाँकी कार्यकालमा पूरा गर्छु।’ 

भूकम्पले निकै क्षति पुर्‍याएकाे ऐतिहासिक भीमसेन मन्दिरलगायत धेरै सम्पदाको पुनःनिर्माण सकेको उनले बताए। ‘खोकनामा तेल मिल बन्दै छ,’ उनले भने, ‘पाटनको क्षेत्रको मन्दिर बन्दैछ, शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित मुद्रा छापेको छु, यस्ता धेरै चुनावी प्रतिबद्धता बाहिरका पनि काम गरेको छु।’ 

प्रतिबद्धताभित्र पर्ने फ्लाइओभर निर्माणबाट भने उनी पछि हटेका छन्। भने, ‘थापाथलीदेखि पुल्चोकसम्म १.४ किलोमिटर लामो फ्लाइओभर निर्माण गर्ने मेरो योजना थियो। तर, प्राविधिकलगायत विभिन्न कारणले मेरो कार्यकालमा सकिएलाजस्तो छैन, अध्ययन भने भएको छ, ग्वार्काेमा पनि बनाइने योजना छ, सरकारले लगानी गर्ने भनेको छ, बन्न चाहीँ बन्छ।’

महानगरपालिकाका प्रवक्ता महर्जनले पनि प्रमुख महर्जनले जारी गरेको धेरै जसो प्रतिबद्धता पूरा गरेको बताए। उनका अनुसार मंगलबजार क्षेत्रमा भूकम्पले भत्काएको मन्दिर पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

‘भीमसेन मन्दिर निर्माणको काम ८० प्रतिशत सकिएको छ। त्यस्तै, तलेजु भवानी मन्दिर बन्ने क्रममा छ। मच्छिन्द्रनाथको मन्दिरको दुई तला बनिसकेको छ, बाँकी रहेका सम्पदा कार्यकालमा सबै सकिन्छ,’ उनले भने। 

उनले पशुको लागि स्नेहाज केयरसँग सहकार्य गरी सडकमा रहेका कुकुर, गाई र गोरुको व्यवस्थापन गर्ने गरिएको बताए। ठाउँको अभावले पशु केन्द्र भने बनाउन नसकिएको उनको भनाइ छ। उनका अनुसार प्रत्येक वडामा शौचालय बनाउने नीतिअनुसार १६ वटा वडामा बनिसकेको छ। बाँकी वडामा बनाउने प्रकृया जारी छ।

उनले भने, ‘शंखमुलमा पनि शौचालय बनाउने तयारीमा छौँ, कृषि पकेटका लागि कृषिलाई ध्यानमा राखेर बजेट विनियोजन गरी कृषकलाई कृषिजन्य उत्पादनको बीउ दिइरहेका छौँ, ल्याब भने बनाउन सकिएको छैन।’

अधिकांश योजना कोभिडकै कारण समयमा बनाउन नसकिएको उनको भनाइ छ। उनले २६ वडामा फ्रि प्रि स्कूल सञ्चालन गरेको र बाँकी वडामा पनि सञ्चालन गर्ने प्रकृयामा रहेको जानकारी दिए।

‘कोरोना रोकथाम प्राथमिकतामा’

महानगरपालिकाका प्रवक्ता महर्जनले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि तीव्र रूपमा काम गरिरहेको बताए।

भने, ‘सुनाकोठीमा आइसोलेसन सेन्टर बनाएर चलाइरहेका छौँ, अक्सिजन अभावमा पनि त्यसको व्यवस्था गरी त्यहाँ १५० लाई सेवा दियौँ, अर्को ठाउँमा पनि १६० शय्याको आइसोलेसन व्यवस्था गरेका छौँ, अहिले त्यस ठाउँमा २८४ जनाले सेवा लिइरहेका छन्‌।’ 

उनका अनुसार अस्पतालबाट कोरोना जित्ने बिरामीलाई राहतको लागि महानगरपालिकाले प्रत्येकलाई ३० हजार रुपैयाँ दिने गरेको छ भने आइसीयूमा उपचार गरी फर्किएकालाई ६० हजार रुपैयाँ दिइरहेको छ। त्यस्तै, कोरोना संक्रमणबाट मृत्यु भएका आर्थिक अवस्था कमजोर भएकालाई एक लाख २० हजार रुपैयाँसम्म दिने व्यवस्था गरेको छ।

‘यस्तो व्यवस्था अरू नगरपालिका र महानगरपालिकाले गरेका छैनन्‌, अबको स्थितिलाई हेरेर पनि अझै थप योजनामा छौँ,’ महर्जनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.