|

पर्वत : फलेवास नगरपालिका–८ ठानामौलास्थित अर्चलेकी ६५ वर्षीया शोभा विक करिब पाँच वर्षपछि ढुक्कले निदाएकी छिन्। २०७२ सालको भूकम्पले घर भत्केपछि जस्तापाताले बारेको अस्थायी टहरामा बस्दै आएकी उनी अहिले देख्दैमा लोभ लाग्दो घरमा सरेकी छिन्।

‘भूकम्पले घर भत्काएसी अलि दिन स्कुलमा बसियो। पछि भत्केकै घरका छेउमा टिनको छाप्रो हालेर बसियो। छाप्रामा बस्दा बेस्सरी डर लाउनी फेरि। सर्पको उस्तै डर‚ बाढी पहिरोको पनि समस्या‚’ उनले भनिन्, ‘अहिले सबैका घर एकै ठाउँमा बनेसी ढुक्कले बसिएको छ। छाप्रामा बस्दा बस्दै प्राण जान्छ कि जस्तो लाग्थ्यो, मर्ने बेलामा नयाँ घरमा सर्न पाइयो।’

शोभाले भनेको जस्तै अर्चलेका १९ परिवारमा यस्तै खालको खुसी मिलेको छ। आर्थिक रूपमा कमजोर दलित बस्तीका नागरिकलाई सुरक्षित स्थानमा एकीकृत रूपमा राख्नको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको मिहिनेतले ढिलै भए पनि उनीहरूलाई खुसी मिलेको हो।

एकीकृत बस्ती निर्माण गर्न बनेको समितिका अध्यक्ष कुमार विकका अनुसार भूकम्प गएपछि कतिपय नजिकैको फलेवास त कतिपय सदरमुकाम कुश्मामा सरे। आर्थिक समस्यामा रहेका परिवारले भत्किएकै घरका छेउमा टहरा बनाएर बसे। उनीहरूले सोही ठाउँमा घर बनाउनको लागि केही खर्च पनि गरिसकेका थिए।

तर‚ काठमाडौंबाट आएको भूगर्वविदको टोलीले उक्त ठाउँ बग्ने जोखिममा रहेकाले अन्यत्रै एकीकृत रूपमा सर्नको लागि सुझाव दियो। त्यसका लागि जमिन किन्नका लागि मात्रै प्रतिपरिवार दुई लाख रुपैयाँ र घर बनाउन तीन लाख रुपैयाँ दिने कुरा प्राधिकरणले गर्‍यो। त्यसमा पनि एकीकृत बस्ती निर्माण गरेर बस्ने हो भने बस्तीको विकासका लागि छुट्टै ४८ लाख रुपैयाँ दिने प्रस्ताव प्राधिकरणले गरेपछि भूकम्प पीडितहरू एकीकृत रूपमा बस्न तयार भए।

पुनर्निर्माण प्राधिकरणले निर्माण गरेको बस्तीमा विद्युत्, पानी, यातायातलगायतको सुविधा बिस्तार गर्नका लागि ४८ लाख, घर निर्माण गर्नका लागि प्रतिपरिवार तीन लाख र जग्गा किन्नका लागि प्रतिपरिवार दुई लाख रुपैयाँका दरले रकम उपलब्ध गरायो। त्यसमा पीडित परिवारले पनि तीन लाख रुपैयाँसम्म थपेर एकीकृत बस्तीलाई नमुनाको रूपमा विकास गरेका छन्।

टहरा त्रासको जीवन कटाएका उनीहरूका प्रत्येक घरलाई पर्खालले घेरिएको छ। हरेक घरमा २४ सै घण्टा पानी आउने धारा जडान गरिएको छ। अब आउने बजेटबाट सामुदायिक भवन बनाउने तयारीमा दलित बस्ती लागेको छ।

‘बस्तीको सुरक्षाको लागि प्रत्येक घरमा पर्खाल छ, रातीमा पनि बिजुलीले बस्ती उज्यालो हुन्छ। प्रदेश सरकारले दिएको बजेटबाट पानीको व्यवस्थापन गरियो, अब सामुदायिक भवन निर्माण गरेपछि हामीहरू आर्थिक रूपमा बलियो बन्ने प्रयासमा लाग्छौं‚’ अध्यक्ष विक भन्छन्, ‘हाम्रा १२ घरमा लगभग ७० जना जतिको बसोबास होला। टिनका छाप्रामा कसरी बसियो होला? के को निदाउन पाइयो र यतिका वर्ष!’

१२ परिवारमध्ये कोहीले घरको काम पूरा सकिएपछि बसाइँ सारे भने कोहीले भुइँ तला तयार हुँदा साथ बन्दै गरेको घरमा बसाँ सारेका थिए। मोटर बाटोको असुविधा रहेको बस्तीमा सजिलै पुग्नका लागि फलेवास नगरपालिकाले सात लाखको लगानीमा बाटो निर्माण गरेको छ। घर बनाउने ठाउँ सम्याउने काम पनि नगरपालिकाले नै गरेको थियो। तीन लाखको लगानीमा विद्युत् र साढे दुई लाखको लगानीमा पदमार्ग पनि निर्माण गरिएको छ। बस्तीलाई सुरक्षित राख्न रातभर सडक बत्ती बाल्नका लागि विभिन्न सहयोगी संस्थाबाट करिब डेढ लाख रुपैयाँ आएको स्थानीय दिल बहादुर विक बताउँछन्।

आयआर्जनका लागि सामूहिक आरन

उमेरले ७४ वर्ष पुगेका जितबहादुर विक बस्तीमै रहेको सामूहिक आरनमा काम गर्छन्। तामाका भाँडा समेत तयार पार्ने उनले आफ्नो जीवनभर खलाँती (आरनमा आगो फुक्न प्रयोग गरिने पशुको छालाको थैलो) ले आरन चलाए। अब आरन नै छोड्नुपर्ने उमेरमा मसिन चलाएर आगो फुक्छन्। उनी जस्तै अरू आठ जनाले सामूहिक रूपमा आरनमा काम गरेर घरेलु कृषि औजार र हतियार बनाउँछन्।

परम्परागत आरनलाई आधुनिक बनाउने अभियान चलाइरहेको फलेवास नगरपालिकाले उनीहरुको आयआर्जनमा वृद्धि गर्नका लागि आधुनिक मसिनरी सामग्रीहरू सहित आरन नै निर्माण गरिदियो। सात लाखको लगानीमा बनेको सामूहिक आरनबाट केही न केही आम्दानी भइरहेको छ भने अन्य तीन जनालाई कुखुरा पालेर जीविका चलाउन प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.