|

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले विद्यालय सञ्चालन नगर्न  जिल्लाका स्थानीय तहसँग अनुरोध गरेको छ। प्रशासनले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै विद्यालय सञ्चालन नगर्न अनुरोध गरेको हो।

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले आफूखुसी विद्यालय सञ्चालन नगर्न आग्रह गरिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।  

हाल जिल्लाको मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाका विद्यालय सञ्चालनमा छन्। पञ्चेश्वर गाउँपालिकाले भदौ ७ देखि विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ। यसका साथै जिल्लाका अन्य स्थानीय तहले पनि विद्यालय सञ्चालन गर्ने तयारी गरिरहेकोले प्रशासनले सञ्चालन नगर्न पत्राचार गरेको हो।

प्रशासनले भिडभाड हुने खालका कुनै कार्यक्रम नगर्न यसअघि नै सूचना जारी गरिसकेको छ। विद्यालय सञ्चालन गर्दा भिडभाड हुने भएकाले महामारीको समयमा सचेतता अपनाउन आग्रह गरिएको भारतीको भनाई छ।

‘विद्यालयमा सबै समुदायका बालबालिका पढ्न आउँछन्’ उनले भने,‘कोरोनाको जोखिम अझै कायमै छ। विद्यालय सञ्चालनमा रहेका केही स्थानमा कोरोना देखिन थालेको छ, त्यसैले सम्भावित जोखिम रोक्न विद्यालय बन्द गर्न भनेका हौं।’

यस्तो अवस्थामा विद्यालय सञ्चालन गर्न महामारी निम्त्याउनु रहेकोले भन्दै प्रशासनले महामारी फैलिएपछि नियन्त्रण गर्न कठिन हुने भएकोले विद्यालय सञ्चालन नगर्न आग्रह गरिएको जनाएको छ। स्थानीय सरकारहरूले पनि जोखिमको पूर्व आँकलन गरेर मात्रै विद्यालय खोल्न अनुमति दिनुपर्नेमा भारतीको जोड रहेको छ।

यसैबीच चाडपर्वको समय पनि नजिक आइरहेकाले भीडभाड नगर्न प्रशासनले आग्रह गरेको छ। भारतसँग सीमा जोडिएको बैतडीमा हाल निषेधाज्ञा हटाएर स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्दै सम्पूर्ण सेवा सञ्चालन गर्न दिइएको छ। बैतडीमा हालसम्म कोरोनाकै कारण १८ जनाको मृत्यु भइसकेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.