|

सिन्धुपाल्चोक : जनै पूर्णिमाको अवसरमा सिन्धुपाल्चोकका विभिन्न देवालय तथा पोखरीहरूमा विशेष मेला लाग्ने गर्दछन्। ती विशेष मेलाहरूलाई थप विशेष बनाउने काम भने भोम्बो नाचले गर्दछ। विशेषगरी तामाङ समुदायका झाँक्रीहरूले नाच्ने नाच भएकोले यसलाई भोम्बो नाचको नामले चिनिएको हो।

जनै पूर्णिमाको दिन पाँचपोखरी थाङपाल गाँउपालिकाको पाँचपोखरी र रैथाने पोखरी, इन्द्रावती गाँउपालिकाको नौलिङ महादेव, भोटेकोशी गाँउपालिकाको भैरवकुण्ड तथा चौतारा साँगाचोकगढी नगरपालिकाको रानीपोखरीमा विशेष मेला लाग्दछ।

ती मेला भर्न सिन्धुपाल्चोकसहित काभ्रेपलाञ्चोक, दोलखा, भक्तपुरलगायत देशका विभिन्न स्थानहरूबाट भक्तालुहरू आउने गर्दछन्। यस वर्ष कोरोना महामारीका कारण स्थानीय तहहरूले मेला भर्न नआउन उर्दी जारी गरे पनि भक्तालुको संख्यामा भने खासै कमी आएन। सदियौंदेखि तामाङ समुदायमा धामीझाँक्रीहरूले औषधि उपचार गर्दै आएका छन्।

अस्पताल तथा औषधिको प्रचलन नहुँदा तिनै झाँक्रीहरूले नै जटील रोगसमेत निको पार्ने गरेको किम्बदन्ती अझै कायम छ। तिनै झाँक्रीहरूले आफ्नो शक्ती बढाउन नयाँ झाँक्रीहरू उत्पादन गर्न यस्ता नाचहरू नाच्ने गर्दछन्। झाँक्री परम्परा विस्तारै लोप हुँदै जाने डरका कारण उनीहरू संगठित भएरै तामाङ घेदुङहरूमार्फत यस्ता परम्परा बचाइराखेका छन्।

चौतारा साँगाचोकगढी नगरपालिका–८, रानीपोखरीमा भोम्बो नाच नाच्दै आइपुगेका चित्रबहादुर झाँक्रीले लोप हुन लागेको परम्परा बचाउँदै आफु यो नाच नाच्दै आएको बताए। ‘पहिले–पहिले अस्पताल नहुँदा हामी झाँक्रीले नै सबै रोगको उपचार गर्ने गरेका थियौं।’ नेपाल तामाङ घेदुङ, चौताराका अध्यक्षसमेत रहेका झाँक्रीले भने,‘हामी हाम्रो परापूर्वकालदेखि चलिआएको परम्परा जोगाउन एकजुट भएर लागेका छौं।’

यस्ता नाचहरूमा कहिलेकाँही महिलाको पनि सहभागिता देखिने गर्दछ। सामान्यतयाः पुरूषहरू मात्रै झाँक्रीको रूपमा देखा पर्ने भए पनि महिला पनि झाँक्री नाचमा देखिँदा दर्शकसमेत दंग पर्ने गर्दछन्। शरिरमा देवता प्रवेश गरेपछि मात्रै झाँक्री बन्न पाइन्छ।

यस्तै महिला झाँक्रीमध्येकी एक चौतारा साँगाचोकगढी नगरपालिका–९, कदमबासकी मनकुमारी तामाङ। आफु १३ वर्षको हुँदा आफ्ना बुबा तथा काकाहरूसँग पाँचपोखरी दर्शन गर्न गएपछि आफुमा देउता चढेको र त्यसपछि नियमित नाच्ने गरेको तामाङले बताइन्। यसरी पुरूषहरू सरह आफु पनि ढ्याङ्ग्रो बजाउँदै गीत गाँउदै हिँड्दा रमाइलो लाग्ने गरेको उनले बताइन्।

कोरोना महामारीको समय भएकोले यसबाट सुरक्षित भई चाडपर्व मनाउनुपर्ने बाध्यता एकातिर छ भने नयाँ पुस्तालाई यो नाचको पुस्तान्तरण गर्नुपर्ने चुनौतिसमेत अर्कातिर छ।

नयाँ पुस्तालाई यस्ता परम्परा हस्तान्तरण गर्नको लागि प्रयास समेत भइरहेको छ। यस्ता नाचहरूमा ७० वर्ष कटेका अनुभवीदेखि १५ वर्षमुनीका बालकहरूसमेत सहभागी हुन थालेका छन्। सबैखाले उमेरसमूहका युवाहरू यस्ता नाचमा सहभागी हुनाले परम्परा जोगाउन मद्दत पुगिरहेको देखिन्छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.