|

काठमाडौं : काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले आकस्मिक कक्षमा आउने बिरामीले सजिलै उपचार पाउन भनेर आकस्मिक उपचार कक्षको सेवामा व्यापक सुधार गरेको छ। केएमसीले आकस्मिक कक्षमा थप सुधार गरेर उपचार छिटो, छरितो र प्रभावकारी बनाएको हो।

बिरामी र कुरुवालाई सघाउन आकस्मिक कक्षमा २४ सै घण्टा ‘इमर्जेन्सी स्वयंसेवक’ को टोली नै परिचालन गरिएको छ। आकस्मिक उपचारका लागि आउने बिरामीलाई सजिलै आकस्मिक कक्षमा लैजान अस्पतालको मूलद्वारसामु ट्रली, ह्विलचेयर र स्ट्रेचर तम्तयार राखिएको छ।

साथै २४ सै घण्टा स्वयंसेवक खटाइएको केएमसीका महाप्रबन्धक नारायण दाहालले जानकारी दिए। 'उनीहरूले एम्बुलेन्स आइपुग्नासाथ बिरामीलाई ओरालेर सकेसम्म छिटो उपचारका लागि आकस्मिक कक्षमा पुर्‍याउने छन्,' उनले भने।

केएमसीका अध्यक्ष डा.सुनिल शर्माले आकस्मिक उपचार सेवा प्रभावकारी बनाउन चासो देखाएपछि सेवामा थप सुधार गरी छिटो, छरितो र गुणस्तरीय बनाइएको हो। केएमसीले आकस्मिक सेवामा सुधार गरेपछि उपचारमा सहज भएको बिरामी र उनीहरूका आफन्तको भनाइ छ।

त्यस्तै केएमसीमा सोधपुछ कक्ष पनि स्थापना गरिएको छ। उपचार तथा अस्पतालसँग सम्बन्धित अन्य कामबारे जानकारी लिन चाहनेका लागि सूचना तथा जानकारी उपलब्ध गराउन सोधपुछ कक्ष स्थापना गरिएको केएमसीले जनाएको छ।

डा.शर्माको प्रवेशसँगै केएमसीले उपचारमा स्तरीयता तथा सेवा विस्तारमा तीव्रता दिँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.