|

डडेल्धुरा : डडेल्धुरा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रधानमन्त्री र शीर्ष नेतृत्वको ध्यानाकर्षण गरिएको छ। अस्पताल विकास समितिका अध्यक्ष र यहाँका जनप्रतिनिधिहरूले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा मेडिकल कलेज बनाउन प्रधानमन्त्री र शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि अवधारणा–पत्र बुझाएका हुन्।

स्वास्थ्य क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान, गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताललाई ‘सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापनाका लागि अवधारणा–पत्र बुझाएको अध्यक्ष ओझाले बताए।

अस्पताललाई प्रतिष्ठान बनाउनका लागि चारैजनाबाट सकारात्मक प्रतिक्रिया पाएको उनको भनाइ छ। डडेल्धुरा देउवाको गृह जिल्ला पनि हो। देउवा पाँचौंपटक देशको प्रधानमन्त्री बनेका छन्।

उनले २०४८ सालयताका सबै चुनाव जितेका छन्। डडेल्धुरामा देउवाले गत २०७४ मा छैटौंपटक चुनाव जितेका थिए। तर, पटकपटक प्रधानमन्त्री भएर पनि देउवाले गृह जिल्लाको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम नगरेको आरोप यहाँमा सर्वसाधरणहरूले लगाउँदै आएका छन्।

अध्यक्ष ओझाले यसअघि मौखिक रूपमा आग्रह गरेको भएपनि यसपटक भने स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि अवधारणा–पत्र नै बुझाइएको र कार्यान्वयन हुनेमा आशावादी रहेको बताएका छन्।

यस्तै, परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउँद नेतृत्वको जनप्रतिनिधिहरूको टोलीले पनि प्रधानमन्त्री देउवालाई डडेल्धुरा स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल कलेज स्थापना गर्न माग राख्दै ज्ञापनपत्र बुझाएका छन्। सुदूरपश्चिममा संघीय सरकारमातहत रहेको डडेल्धुरा अस्पतालएक मात्र अस्पताल हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.