|

धनगढी : समुद्री सतहबाट ४ हजार २१९ मिटर उचाइमा रहेको बाजुराको बडिमालिका प्राकृतिक सौन्दर्यको खानी नै हो।

यो स्थान प्राकृतिक, धार्मिक तथा सांस्कृतिक हिसाबले निकै प्रसिद्ध तीर्थस्थल हो। यहाँ हिउँ कुल्चँदै सुन्दर हिमालको दृश्यावलोकन गर्न पाइन्छ।

अथाह मनोरम प्राकृतिक दृश्यहरू बोकेको बडिमालिकाकालाई सुदूरपश्चिमको गहनाकै रूपमा चिनिन्छ। ​बडिमालिकाको सौन्दर्यले जो पनि मन्त्रमुग्ध हुन्छ। यहाँ विशाल फाँटहरू छन्। अनेकन प्रजातिका फूल फुल्छन्‌।

​यस्तै, बडिमालिकाले धार्मिक तथा सांस्कृतिक रूपमा पनि प्रसिद्धि कमाएको छ। प्रत्येक वर्ष जनैपूणिर्माको दिन बडिमालिकामा ठूलो मेला लाग्ने गर्छ।

यो वर्ष पनि मेला सकिएको छ। बडिमालिका दर्शन गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास छ। मन्दिर परिसरबाट आँखै अगाडि देखिने शैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ। बडिमालिका पुगेका धनगढीका पारस कठायत भन्छन्, ‘बडिमालिका स्वर्ग हो। जहाँ थुप्रै मन्दिर, वन्यजन्तु, खोला, झरना आदि छ। जसले गर्दा मन शान्त हुन्छ। मनै लोभ्याउने दृश्य देख्न नियाल्न पाइन्छ। सुन्दर दृश्य सँगाल्दै यात्रा गर्दा निकै रमाइलो हुने रहेछ।’

बडिमालिका जैविक विविधताका तवरले पनि उत्तिकै महत्वपूर्ण छ। जहाँ थुप्रै वन्यजन्तु, जडिबुटी, तथा चरनक्षेत्र र घाँसे मैदानहरू छन्। २२ पाटन रहेको बडिमालिकामा त्रिवेणी धाम र नाटेश्वरी धाम धार्मिक आस्थाका धरोहरका रुपमा परिचित छन्। हाल बडिमालिका जाने पर्यटकहरू बढ्दै गएका छन्।

अनुपम सुन्दरताले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बडिमालिका पर्दै गएको हो। प्राकृतिक हिसाबले भरिपूर्ण भएपनि त्यस क्षेत्रमा पर्यटन विकासका लागि सरकारले खासै योजना नल्याएको स्थानीयबासीहरू बताउँछन्‌।

​बडिमालिका पुग्ने बाटो र बासस्थान सुरक्षित नहुँदा हिउँदको समयमा कठिन यात्रा गर्नुपर्ने बाध्यता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.